गोरखा । अविरल वर्षाका कारण गोरखाको सहिदलखन गाउँपालिका–६ बतासेमा पहिरो खस्दा एक कुखुरा फार्ममा लेदो र पानी पसेको छ। पहिरोका कारण फार्म जोखिममा परेपछि प्रहरीले स्थानीयको सहयोगमा फार्मभित्र रहेका १ हजार ५ सय कुखुराका चल्लाको सकुशल उद्धार गरेको छ।
प्रहरीका अनुसार आइतबार दिउँसो करिब १२ः३० बजे अविरल वर्षाका कारण ममिता श्रेष्ठले सञ्चालन गरेको रितिका एन्ड रितिक पशुपंक्षी फार्मको माथिल्लो भागबाट पहिरो खसेको थियो। पहिरोसँगै लेदो र पानी फार्मभित्र पसेपछि चल्लाहरू जोखिममा परेका थिए।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी घैरुङबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) ख्याम खत्रीको कमान्डमा तीन जनाको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा फार्मभित्र रहेका कुखुराका चल्लाहरूलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।
उद्धार गरिएका चल्लामध्ये १ हजार ४ सय ९१ वटा ब्रोइलर र ९ वटा कोइलर जातका रहेका छन्। सबै चल्ला करिब एक साताका रहेको जनाइएको छ।
पहिरोका कारण फार्ममा लेदो र पानी पसे पनि हालसम्म अन्य क्षति नभएको प्रहरीले जनाएको छ।