चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएपछि केबलकार सेवा बन्द भएको छ। निरन्तरको वर्षासँगै त्रिशूली नदीको बहाव बढ्दा सडक भासिएको हो।
आइतबार असोज ११ गते गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार जोड्ने झोलुंगे पुलमा त्रिशूली नदीको तीव्र बहावले लगातार प्रहार गरेपछि केबलकारको गेटदेखि भित्रतर्फको सडक भासिएको जनाइएको छ।
इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्र उप्रेतीका अनुसार वर्षाका कारण नदीले आफ्नो धार परिवर्तन गरेको छ। झोलुंगे पुलमा नदीको बहावले निरन्तर प्रहार गर्दा मुख्य राजमार्गसमेत चर्किएको र केबलकारको गेटभित्रको भित्री सडक भासिएको हो।
सडकमा क्षति पुगेपछि मनकामना केबलकार सेवा हाल बन्द गरिएको छ। नदीको बहावले झोलुंगे पुलमा निरन्तर प्रहार गरिरहेकाले आसपासका क्षेत्रमा थप क्षति हुन सक्ने जोखिमसमेत बढेको वडाध्यक्ष उप्रेतीले बताएका छन्।
निरन्तर वर्षा र त्रिशूली नदीको बढ्दो बहावका कारण सडक तथा पुल आसपासको क्षेत्रमा जोखिम बढ्दै गएपछि स्थानीय तहले अवस्थाको निगरानी गरिरहेको छ। नदीको बहाव थप बढेमा सडक, पुल तथा आसपासका संरचनामा थप क्षति पुग्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ।