Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

मान्वु–काँसीगाउँ सडक भासिँदा घर पहिरोको जोखिममा, १२ जनालाई सुरक्षित स्थानमा सारियो


392
Shares

मान्वु–काँसीगाउँ सडक भासिँदा घर पहिरोको जोखिममा, १२ जनालाई सुरक्षित स्थानमा सारियो

गोरखा । गोरखाको आरुघाट गाउँपालिका–१ धोरतमा मान्वुबाट काँसीगाउँ जाने कच्ची सडक भासिँदा सडक छेउमा रहेको एक घर पहिरोको जोखिममा परेको छ। सडक करिब एक मिटर तल भासिएपछि घर जोखिममा परेको हो।

प्रहरीका अनुसार असोज १० गते दिउँसो करिब १२ः३० बजे सडक भासिएको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। सडक भासिएसँगै स्थानीय वीरबहादुर गुरुङको दुईतले कच्ची घर पहिरोको जोखिममा परेको पाइएको हो। उक्त घर पिल्लर भएको, टिनले बारेको र टिनकै छानो रहेको बताइएको छ।

घर जोखिममा परेपछि प्रहरीले स्थानीयवासीसँगको समन्वयमा घरभित्र रहेका सामान सुरक्षित स्थानमा सारेको छ। गुरुङको परिवारका १२ जना सदस्यलाई समेत जोखिमबाट जोगाउन सामान तथा आवश्यक सामग्री उनका बुबाको घर तथा स्थानीय सोमबहादुर गुरुङ र चन्द्रबहादुर घलेको घरमा सारिएको प्रहरीले जनाएको छ। एउटै घरमा तीन दाजुभाइको परिवार बस्दै आएको बताइएको छ।

उक्त स्थान प्रहरी चौकी मान्वुबाट करिब ७ किलोमिटर उत्तरतर्फ पर्छ। सडक भासिएसँगै पहिरो जाने जोखिमसमेत रहेकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।

प्रहरीका अनुसार जोखिममा रहेको घरमुनि श्री विष्णु आधारभूत माध्यमिक विद्यालय रहेको छ। उक्त स्थानमा पहिरो गएमा घरसँगै विद्यालयमा समेत क्षति पुग्न सक्ने सम्भावना रहेको जनाइएको छ। त्यसैले जोखिमको अवस्था निरन्तर निगरानीमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology