Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

मनास्लुमा हिमपहिरोमा पुरिएका दुई आरोहीको शव हेलिकोप्टरबाट उद्धार


434
Shares

मनास्लुमा हिमपहिरोमा पुरिएका दुई आरोहीको शव हेलिकोप्टरबाट उद्धार

 

गोरखा, ६ असोज । मनास्लु हिमालको क्याम्प–३ मा हिउँले पुरिएर मृत्यु भएका दुई आरोहीको शव मौसम खुलेपछि हेलिकोप्टरमार्फत उद्धार गरी सामागाउँ ल्याइएको छ।

गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु क्याम्प–३ मा जर्मनी नागरिक ध्रुवज्योति गुहा र नेपाली नागरिक फुर्सेम्बा शेर्पा मृत अवस्थामा फेला परेका थिए। उनीहरू मनास्लु हिमाल आरोहणका क्रममा टेन्टभित्र हिउँले पुरिएको अवस्थामा भेटिएका हुन्।

प्रहरी विवरणअनुसार २०८३ साल असोज ४ गते करिब ४ बजे क्याम्प–३ क्षेत्रमा दुवै जनाको शव टेन्टभित्र हिउँले पुरिएको अवस्थामा फेला परेको थियो। गुहा मकालु एड्भेन्चर कम्पनी, काठमाडौंमार्फत मनास्लु आरोहणका लागि २०८३ भदौ १६ गते नेपाल आएका जर्मनी नागरिक हुन्। उनको पासपोर्ट नम्बर ऋछल्ँज्ञव्छट रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, मृत अवस्थामा फेला परेका फुर्सेम्बा शेर्पा संखुवासभाको मकालु गाउँपालिका–२ रोपेसा ट्याक्से निवासी ४८ वर्षीय नेपाली नागरिक रहेको विवरणमा उल्लेख छ। उनी आरोहण टोलीमा गाइड वा पोर्टरको भूमिकामा थिए भन्नेबारे भने प्रहरीले यकिन गरिसकेको छैन।

घटनापछि उच्च हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारण तत्काल शव उद्धारमा कठिनाइ भएको थियो। मौसम सफा भएपछि २०८३ असोज ६ गते साँझ ५ः१० बजे एभरेस्ट एयरको हेलिकोप्टरमार्फत दुवै जनाको शव क्याम्प–३ बाट उद्धार गरी सामागाउँ ल्याइएको हो।

शव सामागाउँ ल्याइएपछि प्रहरीले आवश्यक मुचुल्का तयार गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाको थप विवरण तथा मृत्युको कारणबारे सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको छ।

मनास्लु क्षेत्रमा आरोहणका क्रममा दुई जनाको मृत्यु भएपछि उच्च हिमाली क्षेत्रमा मौसम र हिउँको जोखिम फेरि सतहमा आएको छ। विशेषगरी क्याम्प–३ जस्ता उच्च जोखिमयुक्त क्षेत्रमा मौसममा अचानक आउने परिवर्तन, हिमपहिरो र अत्यधिक हिमपात आरोहीका लागि चुनौती बन्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology