गोरखा ५ असोज । गोरखाको सहिदलखन गाउँपालिकाबाट आफुलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को कार्यकर्ता बताउँदै डर, धाक र धम्की दिएर जबर्जस्ती चन्दा असुली गरिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन्। उनीहरूको साथबाट नगद, पार्टीको लेटरप्याड, स्ट्याम्प छाप र पर्चा पम्प्लेटहरू बरामद गरिएको छ। सोमबार अन्दाजी दिउँसो १३ः ०० बजेको समयमा सहिदलखन गाउँपालिका–१, बक्राङस्थित खहरेटोल बस्ने रामलक्ष्मण सामुदायिक वनका सचिव रामबहादुर भुजेललाई लक्षित गरी चन्दा असुली गरिएको भन्ने जानकारी पाएपछि प्रहरीले खोजतलास गर्दै उनिहरुलाई पक्राउ गरेको छ ।
उनिहरुले आफूहरू नेपाल कम्युनिष्ट पार्टी माओवादी) का कार्यकर्ता भएको बताउँदै ज्यान मार्नेसम्मको धम्की दिई पार्टीको लेटरप्याडमार्फत चन्दा मागेको सूचना प्राप्त भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गोरखाबाट प्रहरी सहायक निरीक्षक ईश्वर बाचे मगरको कमाण्डमा खटिएको टोलीले चन्दा असुली गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका– ७, च्याङ्ली बस्ने ३८ वर्षीय अमृत सापकोटा र मोरङको मिक्लाजुङ गाउँपालिका–९ बस्ने ३८ वर्षीय राजकुमार माझी रहेका छन्।
उनीहरूको साथबाट नगद २० हजार रुपैयाँ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को १ थान स्ट्याम्प छाप, २ थान रसिद प्याड र ५० थान पर्चा तथा केही पम्प्लेट बरामद गरिएको छ। पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।