लमजुङ, ९ भदौ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–८, बान्द्रेमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा २५ वर्षीया अञ्जना घले रहनुभएको छ। अञ्जनाको शरीरमा लागेको आगो निभाउने क्रममा उहाँका ४२ वर्षीय श्रीमान् गोपीमान घलेसमेत घाइते हुनुभएको छ।
प्रहरीका अनुसार श्रीमान्–श्रीमतीबिच घरायसी विषयमा सामान्य विवाद भएपछि अञ्जनाले भदौ ७ गते राति करिब ८ः३० बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउनुभएको थियो। आगो निभाउने क्रममा घाइते हुनुभएका गोपीमानको उपचार भइरहेको छ।
प्रहरीका अनुसार अञ्जनाको शरीरको करिब ८० प्रतिशत भाग जलेको थियो। गोपीमानको दुवै हात, खुट्टा र गालामा गरी करिब १० प्रतिशत भाग जलेको थियो। दुवैलाई उपचारका लागि प्रदेश अस्पताल बेँसीसहर लगिएको थियो।
अवस्था गम्भीर भएपछि अञ्जनालाई सोही राति थप उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पतालमा रिफर गरिएको थियो। उपचारका क्रममा भदौ ९ गते बिहान ४ः३६ बजे चिकित्सकले अञ्जनालाई मृत घोषणा गरेको आफन्तले प्रहरीलाई जानकारी गराएका छन्।
गोपीमानको प्रदेश अस्पताल लमजुङ, बेँसीसहरमा उपचार भइरहेको र उहाँको अवस्था सुधारोन्मुख रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो।