Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

फेसबुकमार्फत भरुवा बन्दुकको फोटो पोस्ट गर्ने व्यक्ति पक्राउ


714
Shares

फेसबुकमार्फत भरुवा बन्दुकको फोटो पोस्ट गर्ने व्यक्ति पक्राउ
गोरखा ५ भदौँ : फेसबुकमा भरुवा बन्दुक बोकेको फोटो पोस्ट गरेको सूचनाका आधारमा गोरखामा प्रहरीले एक जनालाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार गोरखाको भीमसेन थापा गाउँपालिका–२ सुनार गाउँ घर भई हाल पालुङटार नगरपालिका–१ खोप्लाङमा ज्यामी काम गर्दै आएका करिब ४३ वर्षीय प्रेम सुनारले आफ्नो ‘Prem Sunar’ नामको फेसबुक खातामार्फत भरुवा बन्दुक लिएको फोटो पोस्ट गरेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो।
२०८३ भदौ ४ गते राति करिब ८ः४० बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक अनिल श्रेष्ठको समन्वयमा प्रहरी चौकी नयाँसाँघुबाट प्रहरी सहायक निरीक्षक रमेश कुमार महतोको कमाण्डमा दुई जनाको प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले खोजी गर्ने क्रममा सोही राति करिब ९ बजे सिरानचोक गाउँपालिका–६ नयाँसाँघुबाट प्रेम सुनारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनको साथबाट लाइसेन्स नभएको एक थान भरुवा बन्दुक समेत बरामद गरिएको प्रहरीको विवरणमा उल्लेख छ।
प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा उक्त भरुवा बन्दुक पालुङटार नगरपालिका–१ खोप्लाङ बस्ने ३३ वर्षीय विष्णु सुनारको रहेको खुलेपछि प्रहरीले विष्णुलाई समेत नियन्त्रणमा लिएको हो।
विष्णुलाई नियन्त्रणमा लिन प्रहरी चौकी छोप्राकबाट प्रहरी सहायक निरीक्षक बेलबहादुर परियारको कमाण्डमा दुई जनाको टोली परिचालन गरिएको थियो। उक्त टोलीले २०८३ भदौ ५ गते बिहान करिब १२ः३० बजे विष्णु सुनारलाई उनको घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गोरखामा ल्याई राखिएको प्रहरीको विवरणमा उल्लेख छ।
प्रहरीले बरामद भएको भरुवा बन्दुकको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology