Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

इन्डोनेसियाको भूकम्पमा परी ४७ जनाको मृत्यु


672
Shares

इन्डोनेसियाको भूकम्पमा परी ४७ जनाको मृत्यु

लाबुआन बाजो, ३१ साउन । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्पमा उद्धारकर्ताहरूले भग्नावशेष र पहिरोमा पुरिएका मानिसको खोजी तीव्र बनाएका छन् ।

भूकम्पमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । हजारौँ मानिस विस्थापित भएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन निकायका अनुसार मङ्गराई क्षेत्रमा २४ र पूर्वी मङ्गराईमा १७ जनाको मृत्यु भएको छ । सिक्का, न्गाडा र एन्डे क्षेत्रमा पनि मानवीय क्षति भएको जनाइएको छ ।

फ्लोरेस टापुका छ क्षेत्रमा भूकम्पपछि गएको पहिरोमा मानिस पुरिएको आशङ्कामा उद्धारकर्ताले खोजी गरिरहेका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षण ९युएसजीएस० का अनुसार सात दशमलव सात म्याग्निच्युडको भूकम्प पूर्वी नुसा तेङ्गारा प्रान्तको एन्डेबाट उत्तर–उत्तरपश्चिमतर्फ ६८ किलोमिटर टाढा केन्द्रबिन्दु भएर गएको थियो । भूकम्पको केन्द्र समुद्रको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको थियो ।

भूकम्पले फ्लोरेस टापुको अधिकांश भाग हल्लाएको थियो । यसको धक्का छिमेकी पश्चिमी नुसा तेङ्गारा र दक्षिणी सुलावेसीका केही क्षेत्रमा पनि महसुस गरिएको थियो ।

विपद् व्यवस्थापन निकायका अनुसार भूकम्पबाट ९०० भन्दा बढी घर ध्वस्त भएका छन् भने करिब ४५० घरमा क्षति पुगेको छ । करिब पाँच हजार मानिस अस्थायी आश्रयस्थलमा बस्न बाध्य भएका छन् ।

शक्तिशाली परकम्पको डरले अन्य हजारौँ बासिन्दाले रात खुला आकाशमुनि बिताएका छन् । विद्यालय, स्वास्थ्य केन्द्र र चर्चलगायत कम्तीमा १६७ सार्वजनिक संरचनामा क्षति पुगेको छ ।

राहतकर्मीले चामल, तयारी खाना, खानेपानी, कम्बल र औषधि वितरण सुरु गरेका छन् । विस्थापितका लागि आपत्कालीन आश्रयस्थल निर्माण भइरहेको छ ।

भूकम्पबाट कोमोडो राष्ट्रिय निकुञ्जको प्रवेशद्वारका रूपमा परिचित लाबुआन बाजो पनि प्रभावित भएको छ । पहिरोका कारण फ्लोरेसका विभिन्न बस्ती जोड्ने करिब ७०० किलोमिटर लामो ट्रान्स–फ्लोरेस राजमार्गका केही खण्ड अवरुद्ध भएका छन् ।

पहुँच कठिन भएका मङ्गराई, पूर्वी मङ्गराई र नागेकेओलगायत क्षेत्रमा उद्धार टोलीले आइतबार खोजी कार्य पुनः सुरु गरेका छन् । मौमेरेस्थित खोज तथा उद्धार कार्यालयका प्रमुख फतुर रहमानका अनुसार अधिकांश पहिरो हटाएर केही पृथक गाउँमा सडक सम्पर्क पुनः स्थापित गरिएको छ । तर सञ्चार र विद्युत् सेवा अवरुद्ध हुँदा खोजी तथा उद्धार कार्य प्रभावित भएको छ ।

उहाँका अनुसार उद्धारकर्ताले भत्किएका घर तथा अन्य संरचनाको भग्नावशेषमा सम्भावित पीडितको खोजी गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology