सन्दिप सुनार
जापान २५ साउन । जापानमा नेपाल कम्युनिस्ट पार्टी निकट प्रवासी संगठन नेपाली जनप्रगतिशील मञ्च जापानले एक वृहत् बार्बेक्यू तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। जनवादी गायक जीवन शर्माको स्वागतमा आयोजित उक्त समर बार्बेक्यू तथा सम्मान कार्यक्रम चिवाको इचिगावा पार्कमा आइतबार सम्पन्न भएको मञ्चले जानकारी दिएको छ।
मञ्चका महासचिव दावा शेर्पा लामाका अनुसार प्रवासमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, एकता, सहकार्य तथा नेपाली कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा जापानस्थित नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी तथा नेपाली समुदायका अगुवाहरूको सहभागिता रहेको थियो। सामाजिक तथा सांस्कृतिक गतिविधिले विदेशमा नेपालीपनलाई जीवित राख्न महत्वपूर्ण भूमिका खेल्ने र यस्ता कार्यक्रमले आपसी सद्भाव, एकता र सहकार्यलाई बलियो बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टी एसिया प्रदेश कमिटीका उपसंयोजक डा. भुपालमान श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनवादी गायक जीवन शर्मालाई विशेष सम्मान गरिएको थियो। साथै, एनआरएनए जापानका निवर्तमान अध्यक्ष नवीन निउरे (नविन न्युरे), पत्रकारहरू तिलक मल्ल, शान्त पहरी र रवीन्द्र श्रेष्ठ, सहिद परिवारका अर्जुन ढकाल, सन्तोषी अधिकारी लगायत विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यक्तिहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुभास लामिछाने, निवर्तमान अध्यक्ष नवीन निउरे, पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार तिलक मल्ल, वर्तमान अध्यक्ष रवीन्द्र श्रेष्ठ तथा मञ्चका पूर्वअध्यक्ष हवल चन्द्र लामा लगायतका वक्ताहरूले शुभकामना तथा अनुभव आदानप्रदान गरेका थिए।

मञ्चका वरिष्ठ उपाध्यक्ष श्यामहरी पाण्डेले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा अध्यक्ष मोहन पौडेलले प्रवासमा हुने यस प्रकारका कार्यक्रमहरूले नेपालीहरूमा भाइचाराको सम्बन्ध प्रगाढ बनाउनुका साथै आत्मीयतालाई नजिक र बलियो बनाउने बताएका छन्। उपाध्यक्ष जनक सुवेदीको संयोजक्त्वमा सञ्चालित सो कार्यक्रममा गायक शर्माको जनवादी गायनमा सहभागीहरूले मनोरञ्जन लिएका थिए। कार्यक्रमको सञ्चालन महासचिव दावा शेर्पा लामाले गरेका थिए।