गोरखा ५ साउन ः गोरखाको भिमसेनथापा गाउँपालिका–२ स्थित बगुवाखेतका एक युवकको शव फेला परेको छ । स्थानीय २४ वर्षीय युवासागर भट्ट मृत अवस्थामा फेला परेका हुन् । बिहान घर नजिकै रहेको पराने चौर जाने बाटोस्थित झाँडीमा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
स्थानीयवासीले बाटो छेउको झाँडीमा शव देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ।
मृतक भट्टको शवलाई परीक्षण (पोष्टमार्टम) का लागि आरुघाट अस्पताल लगिएको छ। प्रहरीका अनुसार भट्टको मृत्यु हुनुको वास्तविक कारण भने हालसम्म खुल्न सकेको छैन।