साउन २ गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा नगरपालिका वडा नं ११ ले शुत्रबार गृहमन्त्री सुधन गुरुङलाई पार्टी नगरसभापति र केही नेतृत्वले गुटगत स्वार्थका लागि भ्रामक बिषयमा बोल्न लगाएको भन्दै आपत्ती जनाएको छ । वडापार्टी सभापति सभापति डोल बहादुर थापा (मोहन) ले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी केन्द्रीय नेता समेत रहनुभएका गृहमन्त्री सुदन गुरुङको गोरखा भ्रमणका क्रममा पार्टीकै स्थानीय नेताहरूले केन्द्रीय नेतृत्वलाई भ्रममा पारेको भन्दै आपत्ती जनाउनु भएको हो ।
गृहमन्त्री गोरखा आउने क्रममा स्थानीय स्तरमा पार्टी मर्यादा विपरीतका गतिविधिहरु भएको र वडा नं ११ का केही रास्वपा सदस्यहरु तथा गोरखा नगरपालिकाका नगर सभापतिको प्रत्यक्ष सहभागितामा वडा कमिटीलाई पूर्ण रूपमा उपेक्षा गरिएको वडासभापति थापाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। वडा सभापति थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘वडा पार्टी सभापति लगायतका जिम्मेवार साथीहरूलाई कुनै जानकारी नदिई केही गुटगत स्वार्थी समूहले केन्द्रीय नेतृत्वसमेतलाई आफ्नो निजी स्वार्थका लागि भ्रममा पारी स्थानीय सरोकारको विषयमा भ्रामक कुरा बोल्न लगाएका छन्।’
उक्त समूहले आफ्ना निहित स्वार्थ पूरा गर्नका लागि गृहमन्त्रीलाई स्थानीय सरोकारका विषयमा गलत जानकारी दिई सोही अनुरुप बोल्न लगाएको र त्यसको भिडियो तथा सामग्रीहरू सामाजिक सञ्जालमा फैलाएको आरोप लगाइएको छ। यस कार्यले सिङ्गो पार्टी पङ्क्तिमा नकारात्मक असर पुर्याएको र आम सर्वसाधारणमा समेत पार्टीप्रति गलत धारणा विकास हुने वातावरण सिर्जना गरेको वडा समितिले जनाएको छ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस क्रियाकलापबाट पार्टीमा हुने सम्पूर्ण राजनीतिक तथा सांगठनिक क्षतिको जिम्मेवारी नगर सभापति स्वयं र वडाका संलग्न साथीहरूले लिनुपर्नेछ।’ यस घटनालाई पार्टीको अनुशासन र नीति विपरीतको कार्य ठहर गर्दै वडा कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
