Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा मध्यराति वृद्ध सासूको कानको लोती चुँडालेर सुन लुट्ने बुहारी प्रहरी फन्दामा


497
Shares

गोरखामा मध्यराति वृद्ध सासूको कानको लोती चुँडालेर सुन लुट्ने बुहारी प्रहरी फन्दामा

गोरखा २५ असार  : गोरखा जिल्लाको शहिद लखन गाउँपालिकामा एक वृद्धामाथि आफ्नै घरभित्रै मध्यराति क्रूर आक्रमण गरी सुनका गहना लुटिएको विचलित पार्ने घटना सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै ८५ वर्षीया वृद्धालाई कुटपिट गरी कानै चुँडाएर सुनका गहना लुट्ने कार्यमा संलग्न उनकै साहिली बुहारीलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ।

प्रहरीका अनुसार घटना गत असार २३ गते मंगलबार राति अन्दाजी १०ः३० बजेको समयमा भएको हो। शहिद लखन गाउँपालिका वडा नं। ०४, ताक्लुङ बाँझोगरा बस्ने वर्ष ८५ की वृद्ध महिला दिलमाया राना आफ्नो घरभित्र सुतिरहनुभएको अवस्थामा उहाँमाथि अचानक आक्रमण भएको थियो। ओछ्यानमै सुतेको संवेदनशील अवस्थामा वृद्धालाई निर्घात कुटपिट गरिएको थियो।

अपराधी यति क्रूर रूपमा प्रस्तुत भए कि वृद्धाले कानमा लगाएको सुनको रिङ जबरजस्ती तान्ने क्रममा दुवै कानको लोती समेत चुँडालिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ। कानको लोती नै चुँडालेर रक्ताम्मे पार्दै वृद्ध महिलाले लगाएका सुनका गहना लुटेर अपराधी फरार भएका थिए।घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको विशेष अनुसन्धान टोलीले घटनाको सुक्ष्म अध्ययन र छानबिन सुरु गरेको थियो।

अनुसन्धानका क्रममा घाइते दिलमाया रानाकी आफ्नै साहिली बुहारी, वर्ष ३५ की झरना रानाको संलग्नता रहेको अचम्मको तथ्य खुल्न आएको हो। प्रहरी निरीक्षक तथा निमित्त सूचना अधिकारी धीरेन्द्र यादवका अनुसार प्रहरीले द्रुत कारबाही गर्दै अभियुक्त झरना रानालाई नियन्त्रणमा लिन सफल भएको छ। प्रहरीले खानतलासी गर्दा अभियुक्तको साथबाट वृद्धाको कानबाट लुटिएका सुनका २ थान रिङ समेत बरामद गरेको छ।

पक्राउ परेकी झरना राना पनि सोही ठाउँ अर्थात् जिल्ला गोरखा, शहिद लखन गाउँपालिका वडा नं ०४ ताक्लुङ बाँझोगराकै बासिन्दा हुन्। प्रहरीले अभियुक्त झरना रानालाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट म्याद थप गरी घटनाको सम्बन्धमा थप कानुनी अनुसन्धान र अन्य प्रमाण जुटाउने कार्य तीव्र रूपमा अगाडि बढाइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology