गोरखा २२ असार : सार्वजनिक स्थलमा महिलालाई आफ्नो गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा रक्षा मन्त्रालयका एक शिक्षा अधिकृत पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्ला बैतडी पाटन नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ बस्ने ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित सार्वजनिक सडकमा उनले महिलालाई आफ्नो गोप्य अङ्ग प्रदर्शन गरेका थिए।
पीडित महिलाले भट्टको उक्त हर्कतको भिडियो खिचेर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्। भिडियो सार्वजनिक भई सर्वत्र विरोध भएपछि प्रहरी वृत्त सातदोबाटो, ललितपुरको प्रहरी टोलीले भट्टलाई नियन्त्रणमा लिएको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका भट्ट सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतको रूपमा कार्यरत राष्ट्रसेवक कर्मचारी रहेको खुलेको छ।
पक्राउ परेका भट्टलाई हाल प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखेर घटनाबारे थप कानुनी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।