काठमाडौँ,८ असार । बेलायती प्रधानमन्त्री कीर स्टार्मरले आफ्नो पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।
बुधबार १० डाउनिङ स्ट्रिटबाहिर राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो राजीनामाको घोषणा गर्नुभएको हो ।। सम्बोधनका क्रममा स्टार्मरले आफूले पदमा रहँदा गरेका हरेक निर्णयहरू आफूले माया गर्ने देशलाई पहिलो प्राथमिकतामा राखेर गरिएको स्पष्ट पार्नुभएको छ ।
प्रधानमन्त्री स्टार्मरले आगामी आम निर्वाचनमा पार्टीको नेतृत्व गर्न आफू उपयुक्त पात्र हो कि होइन भन्ने प्रश्न पार्टीभित्र उठेको र सोही प्रश्नको उत्तरलाई आफूले सद्भावका साथ स्वीकार गर्दै पद त्याग्ने निर्णय गरेको बताउनुभयो ।
सन् २०२४ को जुलाईमा सत्ता सम्हाल्दा आफूले राजनीतिक र आर्थिक रूपमा निकै कमजोर अवस्थाको पार्टी पाएको स्मरण गर्दै उहाँले आफ्नो नेतृत्वमा पार्टीलाई सुदृढ बनाएको दाबी गर्नुभयो ।
राजीनामाको औपचारिक घोषणा गर्नुअघि स्टार्मरले बकिङ्घम प्यालेसमा किङ चार्ल्ससँग आफ्नो निर्णयबारे कुराकानी गर्नुभएको थियो । लेबर पार्टीको नयाँ नेतृत्व चयनका लागि आगामी जुलाई ९ देखि मनोनयन खुल्ने र संसदीय ग्रीष्मकालीन बिदा अगावै यो प्रक्रिया सम्पन्न हुने कार्यतालिका तय गरिएको छ। सेप्टेम्बरमा संसद् पुनः सुरु हुनुअघि नै नयाँ नेता चुनिसक्ने लक्ष्य राखिएको छ। त्यतिन्जेलसम्म स्टार्मर नै प्रधानमन्त्रीका रूपमा बहाल रहनेछन् ।