Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बोराभित्रको रोमा तिवारी त्यो बीभत्स हत्याको रहस्य: पैसाको विवादले निम्त्याएको रोशमाको अन्त्य र टाइल्स मिस्त्रीको कर्तुत


287
Shares

बोराभित्रको रोमा तिवारी त्यो बीभत्स हत्याको रहस्य: पैसाको विवादले निम्त्याएको रोशमाको अन्त्य र टाइल्स मिस्त्रीको कर्तुत

२३ जेठ  झापाको दमक नगरपालिका वडा नम्बर १० स्थित रतुवा खोलाको पुलमुनि बगिरहेको पानी र त्यसको आसपासको वातावरण सधैँजसो शान्त हुन्थ्यो। तर, गत जेठ १६ गतेको त्यो दिन अन्य दिनजस्तो सामान्य रहेन। पुलको मुनि एउटा शङ्कास्पद सेतो बोरा फेला पर्यो। बोरा राम्रोसँग बाँधिएको थियो, जसभित्र केही पोको पारिएको जस्तो देखिन्थ्यो। स्थानीयवासी र प्रहरीको उपस्थितिमा जब त्यो बोरा खोलियो, तब उपस्थित सबैको आङ सिरिङ्ग भयो। बोराभित्र एक अज्ञात महिलाको बीभत्स शव खाँदिएको अवस्थामा फेला परेको थियो।

खोलाको किनारमा भेटिएको त्यो बेवारिसे शवले झापा प्रहरीलाई ठुलो चुनौती दियो। प्रहरीका लागि पहिलो काम थियो— मृतको पहिचान गर्नु। अनुसन्धान टोलीले तदारुकता देखाएपछि अन्ततः उक्त शवको सनाखत भयो। उनी थिइन्— दमक नगरपालिका वडा नम्बर ८, वसन्त टोल बस्ने नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा  तिवारी। कलिलो उमेरमै संसारबाट बिदा भएकी रोमाको यो कस्तो खालको अन्त्य थियो? उनलाई कसले र किन यसरी मारेर बोरामा प्याक गरी खोलामा फाल्यो? यी प्रश्नहरूले झापा प्रहरीको कानुन कार्यान्वयन गर्ने निकायलाई उद्वेलित बनायो।

प्रविधिको सहारा अनुसन्धानको सुइ

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट प्राविधिकसहितको विशेष प्रहरी टोली, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय धरान सुनसरी र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोली मैदानमा उत्रियो। प्रहरीले घटनास्थल र त्यसको वरिपरिको क्षेत्रलाई सूक्ष्म निगरानीमा राख्यो।

रहस्यको पोको फुकाउन प्रहरीले परम्परागत अनुसन्धान मात्र गरेन, आधुनिक प्रविधिको पनि भरपूर प्रयोग गर्‍यो। प्राविधिक विश्लेषण र वारदात स्थल आसपास जडान गरिएका विभिन्न CCTV फुटेजहरूको घण्टौँ लगाएर अध्ययन र विश्लेषण गरियो। सीसीटीभी फुटेजकै सहायताले प्रहरीले घटना भएको समयमा उक्त स्थानवरपर शङ्कास्पद रूपमा संलग्न देखिएका एक व्यक्तिको पहिचान गर्न सफल भयो।

प्रहरीको अनुसन्धानको सुइ सोझियो— भारतको बिहार राज्य, अररिया जिल्ला, अररिया ग्राम पञ्चायत सिरसियाकला घर भई हाल झापाको दमक नगरपालिका वडा नम्बर ५ मा डेरा गरी बस्ने ३४ वर्षीय राकेश कुमार पण्डिततर्फ। पेसाले उनी दमक क्षेत्रमा टाइल्स मिस्त्रीको काम गर्थे।

मध्यरातको त्यो अप्रेसन आत्मसमर्पण

ठोस प्रमाण फेला परेपछि प्रहरीले राकेशलाई समात्न ढिलाइ गरेन। गत जेठ २१ गते राति करिब २३:०० बजे इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतको कमान्डमा एउटा विशेष टोली खटियो। प्रहरी टोलीले दमक–५ स्थित डेरा कोठा घेराउ गरी राकेश कुमार पण्डितलाई नियन्त्रणमा लियो।

प्रहरी हिरासतमा केरकार गर्ने क्रममा राकेशले आफ्नो अपराध स्वीकार गरे। प्रारम्भिक अनुसन्धानबाट खुलेअनुसार, मृतक रोशमा र राकेशबिच पहिलेदेखि नै चिनजान र भेटघाट हुने गरेको थियो। घटनाको दिन उनीहरूबिच पैसाको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो। सामान्य विवादले उग्र रूप लिँदा रिसको आवेगमा आएर राकेशले रोशमाको हत्या गरेको स्वीकार गरे। हत्या गरेपछि प्रमाण लुकाउने नियतले उनले शवलाई सेतो बोरामा पोको पारेर रतुवा खोलाको पुलमुनि फालेका थिए।

बरामद प्रमाण कानुनी प्रक्रिया

प्रहरीले अभियुक्त राकेशको बयानका आधारमा अपराध गर्दा र प्रमाण लुकाउँदा प्रयोग गरिएका महत्त्वपूर्ण प्रमाणहरू (दशमी प्रमाण) समेत बरामद गरेको छ। रोशमासँग भेट हुँदाका बखत उनले लगाएको TOMMY HILFIGER लेखिएको क्रिम रङको रातो, निलो, कालो धर्का भएको टिसर्ट, निलो रङको FLUEGOLD JEANS पाइन्ट र क्रिम रङको जुत्ता १ जोर बरामद भएको छ। यसका साथै, मृतकलाई आफ्नो मोटरसाइकलमा चढाई सो स्थानसम्म पुर्‍याउन प्रयोग गरिएको मे २ प ८२३ नम्बरको निलो रङको HONDA SHINE मोटरसाइकलसमेत प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।

हाल झापा जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ र १८ बमोजिम ज्यान सम्बन्धी कसूर र जबर्जस्ती करणी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि ५ (पाँच) दिनको म्याद थप गरिएको छ। इलाका प्रहरी कार्यालय दमकले यस घटनाको थप गहिराइमा पुगेर विस्तृत अनुसन्धान गरिरहेको छ। एउटा सामान्य आर्थिक विवाद र आवेगले कसरी २१ वर्षीया युवतीको जीवन समाप्त पार्यो र एक मिस्त्रीलाई कारागारको कोठासम्म पुर्‍यायो भन्ने कुराले समाजलाई फेरि एकपटक स्तब्ध बनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology