Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कोरला नाकाबाट अवैध रूपमा भित्रिएका ७७४ विद्युतीय गाडी नियन्त्रणमा, मध्यरातमा सशस्त्रको विशेष अप्रेशन


1.2K
Shares

कोरला नाकाबाट अवैध रूपमा भित्रिएका ७७४ विद्युतीय गाडी नियन्त्रणमा, मध्यरातमा सशस्त्रको विशेष अप्रेशन
काठमाडौँ, जेठ २१ गते ।  चीनसँगको उत्तरी सीमानाका मुस्ताङको कोरलाबाट गैरकानुनी रूपमा नेपाल भित्र्याइएका ठुलो परिमाणका विद्युतीय सवारी साधन (ईभी) सशस्त्र प्रहरीको नियन्त्रणमा परेका छन् । भन्सार छली गरी बजार पुर्‍याउन लागिएको आशंकामा सशस्त्र प्रहरी बल नेपालले गए राती विशेष अप्रेशन सञ्चालन गरी ७ सय ७५ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) बिष्णु प्रसाद भट्टका अनुसार मुस्ताङ, पर्वत र कास्कीका विभिन्न खण्डबाट ती गाडीहरू बरामद गरिएका हुन् । राजश्व छल्ने उद्देश्यले रातको समयमा गाडीहरू लुकिछिपी गन्तव्यतर्फ लैजाँदै गरेको विशेष सूचनाका आधारमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
चार जिल्लाका गण र गुल्म परिचालन
ठुलो संख्यामा रहेका गाडीहरूलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चारवटा जिल्लाका सुरक्षा फौजलाई एकैपटक मैदानमा उतारेको थियो । विशेष सुरक्षा रणनीतिअनुसार मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जा क्षेत्रमा घेराबन्दी गरेर गाडीहरू रोकिउका थिए ।
अप्रेशनका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत र नं. २४ कालिका गण कास्कीबाट ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको मुख्यालयले जनाएको छ ।
नुवाकोटमा पनि दुई गाडी बरामद
यसैगरी, नुवाकोटको पासाङल्हामु सडकखण्डबाट समेत भन्सार छलेर ल्याइएका थप २ वटा गाडी नियन्त्रणमा लिइएको छ । चीनकै अर्को नाका रसुवागढी हुँदै पासाङल्हामु मार्ग भएर राजधानीतर्फ आउँदै गरेका ती गाडीहरूलाई पनि शङ्कास्पद अवस्थामा फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ ।
राजश्व चुहावटमा सुक्ष्म अनुसन्धान सुरु
बजेट वक्तव्यको आसपासमा भन्सार महसुलको दर फेरबदल हुने मौका छोपी व्यवसायीहरूले ठुलो मात्रामा राजश्व छली गर्ने मनसायले यी गाडीहरू भित्र्याएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । भन्सार प्रक्रिया र कागजात विना नै यति ठुलो परिमाणमा गाडीहरू कसरी मुख्य सडक सुधमुध आइपुगे भन्ने विषयमा सुरक्षा निकायले गम्भीर चासो देखाएको छ ।
नियन्त्रणमा लिइएका सबै ७ सय ७५ वटा विद्युतीय गाडीहरूलाई आवश्यक कानुनी कारबाही, भन्सार जाँचबुझ र थप अनुसन्धानका लागि आजै सम्बन्धित राजश्व कार्यालय तथा भन्सार विभागको जिम्मा लगाइने प्रवक्ता भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology