काठमाडौँ, २ जेठ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबारको खेलमा नेपालले अमेरिकामाथि शानदार जित निकालेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले अमेरिकालाई नौ विकेटले हराएको हो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले नटआउट शतक बनाउनुभयो । भने अर्का ओपनर आशिफ शेखले अर्धशतक बनाउनुभयो ।
टस जितेर सुरुमा ब्याटिङ गरेको अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले मात्र एक विकेट गुमाएर ३६ ओभर ४ बलमा पूरा गरेको हो । नेपालका लागि भुर्तेलले ११८ बलको सामना गर्दा चार छक्का र १३ चौकाको मद्दतमा नटआउट १२० रन बनाउँदै शतकीय पारी खेल्नुभयो । अर्का ओपनर शेखले ७२ बलको सामना गर्दै ५८ रनको अर्धशतकीय पारी खेल्नुभएको थियो ।
नेपालका लागि तेस्रो क्रममा ब्याटिङ गर्न आउनुभएका इशान पाण्डेले ३० बलको सामना गरेर २० रन थप्नुभयो । टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३ दशमलव तीन ओभरमा अलआउट हुँदै १९५ रनमा समेटियो । एक सय ५३ रन बनाउँदा जम्मा तीन विकेट गुमाएको अमेरिकाले थप ३७ रन बनाउँदा बाँकी सात विकेट गुमायो ।
अमेरिकाका लागि ओपनर स्मित पटेल र सेहन जयसूर्याले अर्धशतकीय पारी खेले । अमेरिकालाई राम्रो सुरुआत दिलाउने क्रममा पटेलले ८९ बलमा तीन छक्का र आठ चौकाको सहयोगमा ८३ रन बनाउनुभयो भने जयसूर्याले ५२ बल खेल्दै एक छक्का र पाँच चौकाको सहयोगमा ५० रन जोड्नुभयो । साथै मिलिन्द कुमारले २८ र हर्मित सिंहले १४ रन बनाउनु भयो भने अन्य कुनै ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
आइसिसी क्रिकेट विश्वकप लिग(२ को तालिकामा २६ खेल खेल्दा सातौँ स्थानमा रहेको नेपालले २० अङ्क बनाएको छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ ।