काठमाडौँ, २ जेठ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग गर्ने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज सुर्खेत घर भई काठमाडौँको शङ्खमुल बस्ने वर्ष २२ का प्रकाश खड्कालाई पक्राउ गरिएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जनकारी दिनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट बोलेको भन्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत उनले धम्की दिएको अडियो सार्वजनकि भएको थियो ।
उक्त अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी सुरक्षा तथा अनुसन्धान निकायलाई तत्काल कानुनी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको थियो ।