Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले


777
Shares

होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले

काठमाडौँ, २२ वैशाख । राधास्वामी सत्सङ्ग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका आजदेखि विद्यालय जान थालेका छन् ।

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले हिजो सोमबार विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरूको रुचि र आवश्यकता पहिचान गरेपछि आजदेखि वडा नं १४ मा रहेको जनविकास माध्यमिक विद्यालयमा पठाउन लागिएको कामपाका शिक्षा अधिकारी नमराज ढकालले बताउनुभयो ।

नदीकिनारामा अव्यवस्थित बसोबास गरिरहेका घरटहरा खाली गराउने क्रममा थापाथली, गैरीगाउँ र सिनामङ्गलसहित विभिन्न स्थानबाट ल्याइएका ६६ परिवारका २०३ जना अहिले आश्रममा हुनुहुन्छ । उहाँहरूमध्ये अपाङ्गता भएका एक जनासहित ६२ पुरुष, तीन सुत्केरी, दुई गर्भवतीसहित ८० महिला, ३१ बालिका र ३० बालक हुनुहुन्छ ।

यी परिवारमा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका विद्यालय उमेरको हुनुहुन्छ । चार जनाले यस वर्ष एसइई दिनुभएको छ । उहाँहरू कम्प्युटर, सिलाइबुनाइजस्ता सीप सिक्न चाहनुहुन्छ । कामपाले उहाँहरूले चाहेको सीपमूलक तालिमको प्रबन्ध गर्ने योजना बनाएको ढकालले जानकारी दिनुभयो ।

विद्यालय उमेरका विद्यार्थीमध्ये ३० जना छात्रछात्राका अभिभावकले आफ्ना नानीबाबुलाई छात्राबासमा राखेर पढाउने चाहना राख्नुभएको पनि उहाँले भन्नुभयो । कामपा शिक्षा विभागका वरिष्ठ शाखा अधिकृत सुशील सुवेदीका अनुसार छात्राबास बस्न इच्छुकहरूमा ११ छात्रा र १९ छात्र हुनुहुन्छ । सुवेदीका अनुसार विद्यार्थीलाई आवश्यक पर्ने पोशाक तथा शैक्षिक सामग्रीसम्बन्धी आवश्कयतासमेत माग गरिएको छ ।

छात्राबासमा राखेर आवास सुविधासहितको अध्ययनका लागि हामीले प्याब्सन, एनप्याब्सन र हिसानमार्फत कामपाले अनुरोध समेत गरिसकेको छ । कामपाका निर्देशक वसन्त आचार्यका अनुसार १० वर्ष उमेर भएका बालबालिकालाई मात्र छात्राबासमा राख्न उपयुक्त हुने सुझाव प्राप्त भएपछि हामीले त्यही अनुरूप व्यवस्थापनको प्रयास गरिरहेका छौँ । निजी तथा संस्थागत विद्यालयबाट खबर प्राप्त भएपछि हामी इच्छुक र योग्य बालबालिकालाई छात्राबास पठाउँछौँ ।

कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आइतबार प्याब्सन र एनप्याब्सनका पदाधिकारीसँग बसेर होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि संस्थागत विद्यालयमा आवास सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology