संयुक्त राष्ट्रसङ्घ, ७ वैशाख । संयुक्त राष्ट्रसङ्घको आगामी महासचिव चयन प्रक्रिया यसपटक असामान्य रूपमा सीमित प्रतिस्पर्धामा देखिएको छ । सन् २०१६ मा १३ जना उम्मेदवारबिच भएको खुला र उत्साहजनक प्रतिस्पर्धाको तुलनामा अहिले केवल चार जना दाबेदार मात्र औपचारिक प्रस्तुतिका लागि अघि आएका छन् । विश्लेषकहरूका अनुसार यो सङ्कुचन केवल संयोग होइन, बरु विश्व राजनीतिमा बढ्दो ध्रुवीकरण, कूटनीतिक जोखिम र कमजोर बन्दै गएको बहुपक्षीय प्रणालीको प्रत्यक्ष सङ्केत हो ।
हालका महासचिव एन्टोनियो गुटेरेसको कार्यकाल आगामी डिसेम्बर ३१ मा सकिँदैछ । उहाँको उत्तराधिकारी चयनका लागि सुरु भएको प्रक्रियाअन्तर्गत चार उम्मेदवारले संयुक्त राष्ट्र महासभामा सदस्य राष्ट्रहरूसामु आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन् । प्रस्तुतिको क्रमअनुसार चिलीकी पूर्वराष्ट्रपति मिशेल ब्याचेलेटले पहिलो ‘अडिसन’ दिनुहुनेछ । त्यसपछि अर्जेन्टिनाका अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफेल मारियानो ग्रोसी, कोस्टा रिकाकी अर्थशास्त्री तथा युएनसीट्याड प्रमुख रेबेका ग्रिन्स्पान र अन्त्यमा सेनेगलका पूर्वराष्ट्रपति म्याकी सलले आफ्ना धारणा राख्नुहुनेछ ।
सपटक उम्मेदवार सङ्ख्या घट्नुका पछाडि सबैभन्दा प्रमुख कारण विश्व राजनीति गहिरो ध्रुवीकरणतर्फ जानु हो । एक दशकअघि अन्तर्राष्ट्रिय सहकार्य अपेक्षाकृत सहज थियो, जसले धेरै उम्मेदवारलाई प्रतिस्पर्धामा उत्रिन प्रोत्साहित गरेको थियो । तर अहिले अमेरिका, चीन र रुसजस्ता शक्तिशाली राष्ट्रहरूबीच बढ्दो अविश्वासका कारण यस्तो प्रतिस्पर्धामा भाग लिनु नै कूटनीतिक रूपमा जोखिमपूर्ण बनेको छ । विश्लेषकहरूका अनुसार अब उम्मेदवार बन्नु केवल प्रतिष्ठाको विषय मात्र होइन, गलत सन्देश गए शक्तिशाली देशहरूसँगको सम्बन्ध बिग्रन सक्ने संवेदनशील निर्णय हो ।
सन् २०१६ मा पनि यस्तो माग व्यापक रूपमा उठेको थियो, तर अन्ततः पुरुष उम्मेदवार चयन भएका थिए । यसपटक भने केही शक्तिशाली देशहरूले महिला नेतृत्वप्रति सकारात्मक सङ्केत दिएका छन्, यद्यपि अन्तिम परिणाम अझै अनिश्चित छ ।
यसपटकको सीमित प्रतिस्पर्धा केवल उम्मेदवार सङ्ख्या घट्नुको घटना मात्र नभएर यसले विश्वव्यवस्थामा देखिएको अस्थिरता, शक्ति सङ्घर्ष र कमजोर हुँदै गएको बहुपक्षीय संरचनालाई प्रतिबिम्बित गर्छ । आगामी महासचिव को बन्छ भन्ने प्रश्नसँगै संयुक्त राष्ट्रसङ्घको भविष्य कस्तो दिशातर्फ जान्छ भन्ने ठूलो प्रश्न पनि यही प्रक्रियासँग जोडिएको छ ।