Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बिन्ध्याबासिनी महायज्ञ सम्पन्न : श्रद्धालुहरूको उल्लेखनीय सहयोगबाट करिब ३७ लाख रुपैयाँ संकलन


1.5K
Shares

बिन्ध्याबासिनी महायज्ञ सम्पन्न : श्रद्धालुहरूको उल्लेखनीय सहयोगबाट करिब ३७ लाख रुपैयाँ संकलन

गोरखा ३० चैत । गोरखा जिल्लाको नारेश्वर नजिक अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बिन्ध्याबासिनी मन्दिरमा आयोजना गरिएको महायज्ञ श्रद्धा, भक्ति र उत्साहका साथ सफलतापूर्वक सम्पन्न भएको छ। मन्दिरको भौतिक संरचना निर्माण तथा संरक्षणका लागि सञ्चालन गरिएको उक्त महायज्ञबाट करिब ३७ लाख रुपैयाँ संकलन भएको आयोजकले जानकारी दिएका छन्।

चैत १७ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको महायज्ञ अवधिभर ३६ लाख १७ हजार १४० रुपैयाँ संकलन भएको बिन्ध्याबासिनी संरक्षण मूल समिति तथा महायज्ञ मूल समारोह समितिका प्रचार–प्रसार संयोजक बिमल श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार संकलित सम्पूर्ण रकम मन्दिरको भौतिक संरचना निर्माण तथा व्यवस्थापनमा खर्च गरिनेछ।

गोरखा नगरपालिका–४, कान्तेश्वारामा अवस्थित उक्त बिन्ध्याबासिनी मन्दिर ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। शिलालेखअनुसार यो मन्दिर तत्कालीन राजा रामशाहको पालामा वि.सं१७८३ सालमा निर्माण भएको उल्लेख पाइन्छ। पहराको ढुङ्गामुनि रहेको मन्दिरलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो।

धार्मिक विश्वासअनुसार गोरखा र तनहुँ क्षेत्रमा अवस्थित गोरखकाली, अन्नपूर्ण, अकला, मनकामना, छिम्केश्वरी र छाब्दी बराही देवीहरूसँग बिन्ध्याबासिनीलाई सात दिदीबहिनीमध्ये एकको रूपमा पूजाआजा गर्ने परम्परा रहिआएको छ। विशेषगरी जनै पूर्णिमा तथा ठूलो एकादशीका अवसरमा यहाँ विशेष पूजा तथा मेला लाग्ने गर्दछ। साथै, यहाँ गरिएको भाकल पूरा हुने जनविश्वासका कारण टाढा–टाढाबाट भक्तजनहरू दर्शन तथा पूजा गर्न आउने गर्दछन्।

महायज्ञमा स्थानीय भक्तजनहरूको उल्लेखनीय सहभागिता र सहयोग देखिएको छ। सो क्रममा उपेन्द्र बस्नेतले १ लाख १२ हजार ११२ रुपैयाँ, दयाराम कोइरालाले १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्नुभएको छ। त्यस्तै, अमृत कुँवरले ६६ हजार ६६६ रुपैयाँ, रमेश श्रेष्ठले ५६ हजार ६६६ रुपैयाँ, चुलबहादुर कुँवरले ५५ हजार ५५५ रुपैयाँ तथा बावुराम श्रेष्ठले ५१ हजार १५५ रुपैयाँ सहयोग प्रदान गर्नुभएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो।

यसैबीच, मन्दिरको दीर्घकालीन संरक्षण र विकासका लागि गोरखा नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन .(डीपीआर) समेत तयार गरिसकेको छ। आगामी दिनमा थप सहयोग संकलन गर्दै मन्दिरलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको आयोजक पक्षले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology