काठमाडौं, २७ चेत्र । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थीहरूले भोग्नुपरेका उत्पीडन र दुर्व्यवहारका घटनालाई सम्बोधन गर्न नयाँ पहल सुरु गरेको छ ।
मन्त्री सस्मित पोखरेलले एक सार्वजनिक आह्वान गर्दै कुनै पनि प्रकारको दुर्व्यवहार भोगेका विद्यार्थीहरूलाई सिधै मन्त्रालयमा गुनासो दर्ता गर्न आग्रह गर्नुभएको हो ।
उहाँले सामाजिक सञ्जालमार्फत विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आफूमाथि भएको वा भइरहेको दुर्व्यवहारबारे जानकारी दिन अनुरोध गर्नुभएको छ ।
सुरक्षित शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले मन्त्रालयले प्राप्त गुनासोहरूमाथि तत्काल अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने उहाँको भनाइ छ ।
शैक्षिक संस्थाहरूमा हुने कुनै पनि प्रकारका दुर्व्यवहार र शोषणका विरुद्ध मन्त्रालयले शून्य सहनशीलताको नीति अंगीकार गरेको समेत उहाँले लेख्नुभएको छ ।