गोरखा, २१ चैत । उत्तरी गोरखाको पाङसिङ गाउँमा आज डढेलो सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
चुमनुब्री गाउँपालिकाको आयोजना तथा मनास्लु संरक्षण क्षेत्र आयोजनाको समन्वयमा बिहीबार डढेलो नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम गरिएको पालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार जलवायु परिवर्तन न्युनीकरण र जैविक विविधिता संरक्षणको लागि पाङसिङ गाउँमा डढेलो नियन्त्रण सम्वन्धी सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।
उत्तरी गोरखाको उक्त गाउँ झण्डै २०० घर रहेको छ र गाउँमा बसोबास गर्ने अधिकांसले भेडा पालन गर्ने भेडी गोठ रहेको तथा डढेलोको उच्च जोखिम क्षेत्र पनि भएको अध्यक्ष लामाले बताउनुभयो ।
बिहीबार एक दिने सचेतना कार्यक्रममा गाउँका आमा समूह, बन ब्यवस्थापन समितिका सदस्यहरु तथा बडा समिति र सर्व साधारणहरुको सक्रिय सहभागिता रहेको थियो । जनाएको सचेतना कार्यक्रममा पालिका अध्यक्ष लामा, अधिकृत लामिछाने र मनास्लु संरक्षण अधिकृत भुवन राज ओझाले सहजिकरण गरेका थिए ।
सोही अवसरमा मनास्लु संरक्षण क्षेत्र आयोजनाको कार्यालयले डढेलो नियन्त्रण तथा अनुगमनका लागि प्रयोग गर्न खरिद गरेको ड्रोनको समेत परिक्षण उडान गरिएको मनास्लु संरक्षण अधिकृत भुवन राज ओझाले बताउनुयो ।