गोरखा, ११ चैत । गोरखामा वन डढेलो न्यूनीकरण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले गोरखा जिल्लामा सार्वजनिक यातायातका साधनहरुमा वन डढेलो सम्बन्धी सन्देशमूलक स्टिकर टाँस्ने कार्यक्रम सम्पन्न गरिएको छ ।
वन डढेलो व्यवस्थापन कार्ययोजना २०८२ को कार्यान्वयन अन्तर्गत जिल्ला भित्रबाट बिभिन्न स्थानका लागि छुट्ने ३० भन्दाबढी सवारी साधानमा स्टिकर टाँसिएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख, बस व्यवसायीहरू, डिभिजन वन कार्यालयका प्रतिनिधिसहितको सहभागिता सचेतना फैलाउन अभियान सञ्चालन गरिएको हो । कार्यक्रमलाई समुदाय–प्रहरी साझेदारी अवधारणासँग समेत आबद्ध गरिएको कार्यालयले जनाएको छ ।
कार्यक्रम अन्तर्गत पोखरा, काठमाडौं, चितवन लगायत लामो दूरीमा सञ्चालन हुने बसहरू तथा जिल्लाभित्र सञ्चालन हुने छोटो दूरीका सार्वजनिक सवारी सधानमा वन डढेलो सम्बन्धी सचेतनामूलक स्टिकर टाँसिएको छ ।
बसहरूमा टाँसिएका सन्देशहरू मार्फत वनमा आगलागी नगर्न, डढेलो देखेमा तत्काल सम्बन्धित निकायलाई खबर गर्न, र वन संरक्षणमा सबैको भूमिका आवश्यक रहेको जस्ता सन्देशहरू समेटिएका छन् ।
कम लागतमा धेरै नागरिकसम्म सन्देश पु¥याउने उद्देश्यले सार्वजनिक यातायातका साधन प्रयोग गरेर सचेतना अभियान सञ्चालन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
सार्वजनिक यातायात गाउँदेखि शहरसम्म नियमित सञ्चालन हुने भएकाले यस माध्यमबाट दुर्गम तथा शहरी दुवै क्षेत्रका नागरिकसम्म प्रभावकारी रूपमा सन्देश पुग्ने विश्वास लिइएको छ ।
वन डढेलोका कारण हरेक वर्ष वन क्षेत्र, जैविक विविधता, वन्यजन्तु तथा वातावरणमा ठूलो क्षति हुने भएकाले समयमै सचेतना फैलाउनु आवश्यक रहेको सरोकारवालाहरुको भनाई छ ।
वन कार्यालयले निजी तथा सामुदायिक विद्यालयहरुसँग समन्वय गरी विद्यालय बसहरुमा समेत यस्ता सचेतनामूलक स्टिकर टाँस्ने योजना बनाएको छ ।
यसबाट विद्यालय तहका बालबालिकामा समेत वन डढेलो सम्बन्धी सचेतना अभिवृद्धि हुने र दीर्घकालीन रूपमा वन संरक्षणमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
वन संरक्षण, वातावरण संरक्षण र डढेलो न्यूनीकरणका लागि जनचेतना महत्वपूर्ण हुने भएकाले यस्ता अभियानलाई निरन्तर सञ्चालन गरिने डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।