गोरखा, ३ चैत । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार लेखनाथ न्यौपानलेले आफ्नो चुनावी खर्च आज निर्वाचन आयोगलाई बुझाउनु भएको छ । उहाँले निर्वाचन आयोगमा पेश गरेको विवरणअनुसार प्रचारप्रसारदेखि कार्यालय सञ्चालनसम्मका विभिन्न शीर्षकमा गरिएको निर्वाचनमा खर्च भएको उल्लेख गर्नुभएको छ ।
निर्वाचन कार्यलयमा पेश गरिएको खर्च विवरण अनुसार उम्मेदवार न्यौपानेले कुल २४ लाख ५ हजार ८२० रुपैयाँ बराबरको खर्च भएको उल्लेख छ । विवरणमा मनोनयन दर्तादेखि मतदाता नामावली व्यवस्थापन, प्रचारप्रसार, सवारी साधन प्रयोग, इन्धन, कार्यालय सञ्चालन तथा विविध शीर्षकमा गरिएको खर्च समेटिएको छ ।
जसमा मनोनयन खर्चतर्फ १० हजार रुपैयाँ खर्च गरिएको छ भने मतदाता नामावली तथा स्टेसनरी व्यवस्थापनमा १ लाख ४२ हजार रुपैयाँ खर्च भएको उल्लेख छ । त्यस्तै, सवारी साधन भाडामा २ लाख ७५ हजार रुपैयाँ र सवारी इन्धनमा १ लाख २५ हजार रुपैयाँ खर्च गरिएको जनाइएको छ । प्रचारप्रसारतर्फ सबैभन्दा बढी खर्च देखिएको छ । पर्चा, पम्प्लेट, ब्यानर, ब्याज तथा कार्ड छपाइ जस्ता सामग्रीमा ३ लाख ९१ हजार रुपैयाँ खर्च भएको उहाँले आयोगलाई जानकारी गराउनुभएको छ ।
त्यस्तै, प्रतिनिधि परिचालनअन्तर्गत १५० मतदान केन्द्रमा गरिएको व्यवस्थापनका लागि ७ लाख ७० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ ।
यसैगरी छपाइ तथा विद्युतीय प्रचारतर्फ ४ लाख ४८ हजार ७५० रुपैयाँ खर्च भएको छ भने कार्यालय सञ्चालनमा १ लाख ९० हजार रुपैयाँ र विविध शीर्षकमा ५३ हजार ५३० रुपैयाँ खर्च गरिएको जनाइएको छ । उम्मेदवार न्यौपानेले निर्वाचन आयोगले तोकेको मापदण्डभित्र रही पारदर्शी ढंगले खर्च विवरण सार्वजनिक गरेको उल्लेख गर्नुभएको छ ।