गोरखा, १७ फागुन । गोरखाको दुवै निर्वाचन क्षेत्रमा आफ्नो उमेद्वारी फिर्ता लिएको प्रगतीशिल लोकतान्त्रिक पार्टीले यहीँ फागनु २१ गतेको निर्वाचनमा कसलाई सघाउने भन्नेमा विवाद देखिएको छ ।
पार्टीका जिल्ला संयोजक नारायण खत्रीले गोरखाको दुवै निर्वाचन क्षेत्रमा काग्रेससंग चुनावी समिकरण गर्ने मौखिक प्रतिवद्धता गर्नुभएपछि पार्टीमा विवाद बढेको हो ।
‘‘हामीले अहिलेसम्म कुनै लिखित सहमति नै त गरेको छैन, उहाँले भन्नुभयो, ‘‘फागुन २१ गतेको निर्वाचनमा जिल्लामा काँग्रेसलाई सघाउने मौखिक प्रतिवद्धता जनाएका हौँ ।’’ पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ मा दिएको उमेद्वारी र क्षेत्र नम्बर १ मा नेता गोपालबाबु श्रेष्ठ उमेद्वारी फिर्ता लिएसंगै प्रलोपाले जिल्लामा पार्टीलाई सहयोग गर्ला भन्ने चासो भइरहेका बेला जिल्ला अध्यक्ष खत्रीले काग्रेसलाई सहयोग गर्ने प्रतिवद्धतापछि प्रलोपा भित्रको विवाद सुरु भएको छ ।
प्रलोपा गोरखामा एक पक्ष नेपाली कम्युनिष्ट पार्टीलाई सहयोग गरेर जानुपर्ने अडानमा रहेको छ भने एक पक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सहयोग गरेर जानुपर्ने पक्षमा रहेको थियो । तर अध्यक्ष खत्रीको मौखिक सहमति पार्टीको सहमति नभइ व्यक्तिगत धारणा मात्र रहेको प्रलोपाका केन्द्रीय सदस्य रोहित पाण्डेले बताउनुभयो ।
उहाँले अहिले कसलाई सहयोग गरेर जाने भन्ने कुनै आधिकारिक निर्णय पार्टीले नगरेको भन्दै अध्यक्ष खत्रीको प्रतिवद्धता व्यक्तिगत मात्र भएको उल्लेख गर्नुभयो । केन्द्रीय सदस्य पाण्डे गोरखाको दुवै निर्वाचन क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीलाई सहयोग गरेर अघि बढ्नुपर्ने पक्षमा रहदै आउनु भएको छ ।
पूर्वमाओवादी एवं जनयुद्धमा ठूलो बलिदान गरेर आएको कुशल र क्षमताबाट नेताहरु गोरखा २ मा लेखनाथ न्यौपाने र गोरखा १ मा हरिराज अधिकारी चुनावी मैदानमा रहेकाले अहिले पार्टीको उमेद्वार नभएका बेला उहाँहरुलाई नै सहयोग गरेर पार्टी अघि बढ्नु उचित हुने केन्द्रीय सदस्य पाण्डेको तर्क छ ।
उहाँले केही व्यक्तिले चिया पसलहरुमा गरेको छलफललाई पार्टी निर्णय रुपमा स्विकार नगर्ने र काग्रेस संग गरेको मौखिक प्रतिवद्धता कार्यान्वयन नहुने स्पस्ट पार्नुभयो ।