Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आसन्न प्रतिनिधी सभा निर्वाचनको लागी गोरखामा ८ पार्टीका १२ जना उम्मेदवारले मात्रै खोले बैंक खाता


763
Shares

आसन्न प्रतिनिधी सभा निर्वाचनको लागी गोरखामा ८ पार्टीका १२ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

 

गोरखा, ८ माघ । यहि फागुन २१ गते हुने निर्वाचनकोलागि गोरखाबाट उम्मेदवारी दिएका १२ जनाले मात्र बैंक खाता खोलेका छन् ।

गोरखा क्षेत्र नम्बर १ र २ मा गरी कुल २५ जना उम्मेदवार रहेकोमा १२ जनाले मात्र बैंक खाता खोलेको जिल्ला निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिजो बिहीबार साँझसम्म नेपाली काँग्रेसका प्रेमकुमार खत्री र प्रकाशचन्द्र दवाडी, नेपाली कम्युनिष्ट पार्टीका हरीराज अधिकारी र लेखनाथ न्यौपाने तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केदार मणी खनाल र कुल बहादुर बस्नेतले बैंक खाता खोलेका छन् ।

त्यस्तैगरी, मंगाले नेशनल अर्गनाइजेसनका देवबहादुर थापा र सोमबहादुर गुरुङ, संयुक्त नागरिक पार्टीका जितबहादुर घले, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी, उज्यालो नेपाल पार्टीका बलराम तामाङ र नेशनल रिपब्लिक नेपालका प्रसाद गुरुङले मात्र बैंक खाता खोलेको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

अन्य दल र उम्मेदवारले अहिलेसम्म पनि बैंक खाता खोल्ने बिषयमा आनाकानी गरेको उहाँले बताउनुभयो । निर्वाचन आचारसंहिताको दफा–१६ मा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैड्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली त्यही खाताबाट गर्नुपर्ने उल्लेख छ ।

राजनीतिक दलले पनि निर्वाचनसम्बन्धी खर्च गर्दा बैड्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खोलिएको खातामार्फत खर्च गर्नुपर्ने, २५ हजार रुपैयाँभन्दा धेरैको आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्थामार्फत गर्नुपर्ने व्यवस्था छ ।

यस्तै, कुनै व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगको रूपमा नगद लिएमा त्यो रकम बुझेको रसिद वा भरपाई दिनुपर्नेछ । राजनीतिक दलका नाममा सहयोग प्राप्त भएको भए दलको र उम्मेदवारका नाममा प्राप्त भएको भए उम्मेदवारको बैङ्क खातामा जम्मा गर्नुपर्नेलगायतका प्रावधान छन् ।

यस्तो व्यवस्थाले निर्वाचन अभियानको आम्दानी–खर्च पारदर्शी बनाउने आयोगको अपेक्षा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology