Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

तनहुँ जलविद्युत आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन


959
Shares

तनहुँ जलविद्युत आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन

तनहुँ, १९ माघ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्ष हितेन्द्र देव शाक्यले निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा कार्यकारी निर्देशक शाक्यले आयोजनाका विभिन्न प्याकेजअन्तर्गत भइरहेका कामहरूको मसिनो गरी अवलोकन गर्दै निर्माण कार्यलाई तोकिएकै समयतालिकाभित्र सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ ।

कार्यकारी निर्देशक शाक्य नेतृत्वको उच्चस्तरीय टोलीले आइतबार प्याकेज–१ अन्तर्गतको मुख्य बाँध निर्माण स्थल, प्याकेज–२ अन्तर्गतको विद्युतगृह, मुख्य सुरुङ र इन्टेक लगायतका महत्त्वपूर्ण संरचनाहरूको अवलोकन गरेको थियो । सो अवसरमा शाक्यले आयोजनाको भौतिक प्रगतिबारे जानकारी लिँदै राष्ट्रिय गौरवको यो आयोजनाले मुलुकको ऊर्जा क्षेत्रमा ठूलो महत्व राख्ने भएकाले निर्माणमा संलग्न सबै पक्षलाई पूर्ण जिम्मेवारी र तत्परताका साथ खटिन आग्रह गर्नुभयो । उहाँले निर्माणका क्रममा आइपर्ने प्राविधिक तथा व्यवस्थापकीय चुनौतीहरूलाई तत्काल समाधान गर्दै कामको गतिलाई अझ तीव्रता दिनुपर्नेमा जोड दिनुभयो ।

आयोजनाको प्रगतिबारे चर्चा गर्दै आयोजना प्रमुख श्यामजी भण्डारीले प्याकेज–१ अन्तर्गत बाँध निर्माणको कार्य ४७ प्रतिशत पुगेको र १४० मिटर अग्लो बाँधको कङ्क्रिटिङ कार्य सुरु भइसकेको जानकारी दिनुभयो । यसैगरी, प्याकेज–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको विद्युतगृह र भूमिगत संरचनाको काम ७२।५ प्रतिशत सकिएको छ भने प्याकेज–३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको प्रगति ७४।५ प्रतिशत पुगेको उहाँले बताउनुभयो ।

अनुगमनका क्रममा कार्यकारी निर्देशक शाक्यले आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग संयुक्त छलफल गर्दै वातावरणीय तथा सामाजिक सुरक्षणका विषयमा पनि चासो व्यक्त गर्नुभयो । उहाँले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा देखिएका समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयहरूसँग समन्वय भइरहेको बताउँदै आयोजनामा कुनै पनि बहानामा ढिलाइ सह्य नहुने स्पष्ट पार्नुभयो ।

कुल ५० करोड ५० लाख अमेरिकी डलर लागत अनुमान गरिएको यस आयोजनामा एसियाली विकास बैंक ९एडीबी०, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०, युरोपियन लगानी बैंक र नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी रहेको छ । राष्ट्रिय प्रणालीको भार व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने लक्ष्य राखिएको यो जलाशययुक्त आयोजनालाई निर्धारित समयभित्रै सञ्चालनमा ल्याउन नेतृत्व तहबाट निरन्तर निगरानी र निर्देशन भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology