Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बुढीगण्डकीमा लगानी गर्न निजी क्षेत्र तयार


1.2K
Shares

बुढीगण्डकीमा लगानी गर्न निजी क्षेत्र तयार

काठमाडौँ, १७ माघ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ ।

धादिङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको १० औँ धादिङ महोत्सवको उद्घाटन समारोहमा अध्यक्ष ढकालले लामो समयदेखि चर्चामा रहेको एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना अगाडि बढाउनुपर्नेमा विशेष जोड दिनुभयो ।

साथै उहाँले सो अवसरमा बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण तत्काल अघि बढाउन दबाब दिने उद्देश्यले सञ्चालन गरिएको हस्ताक्षर अभियानमा हस्ताक्षरसमेत गर्नुभयो ।

नेपालभरका उद्यमी, व्यवसायी तथा लगानीकर्ताको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड ९एनडिपी० कम्पनी स्थापना गरिएको र यस आयोजनामा स्रोतको कमी भएको भए निजी क्षेत्रका तर्फबाट यस कम्पनीमार्फत लगानी गर्न आफूहरू तयार रहेको समेत अध्यक्ष ढकालले बताउनुभयो ।

“नेपालमा जलविद्युत् विकासको अपार सम्भावना छ । जलविद्युत्को विकाससँगै यहाँका खनिज, कृषि उत्पादन तथा अन्य व्यवसायको सम्भावनालाई पनि थप उजागर गर्न सहयोग पुग्ने छ ।

आवश्यक परेमा हामी सहयोग गर्न तयार छौँ,” उहाँले भन्नुभयो । उहाँले धादिङ जिल्लामा रहेका कुनै पनि सम्भावनाका क्षेत्र खनिज, कृषि तथा अन्य कुनै पनि उद्यम, व्यवसायमा लगानी गर्न एनडिपी तयार रहेको समेत उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्रले कुनै पनि आयोजना तोकिएको समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट र स्रोतमा सम्पन्न गर्ने गरेको बताउनुभयो ।

“गत भदौको जेनजी आन्दोलनमा भएको घुसपैठका क्रममा निजी क्षेत्रका धेरै उद्योग, कलकारखाना, होटेल तथा व्यावसायिक प्रतिष्ठानमा आगजनी र क्षति भएको अवस्था थियो । निजी क्षेत्रका सबैले अहिले ती व्यवसाय मर्मतसम्भार र पुनर्निर्माण गर्दै सञ्चालनमा समेत ल्याइसकेका छौँ । निजी क्षेत्र कुनै पनि आयोजना तोकिएको समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट र स्रोतमा सम्पन्न गर्ने गरेका छौँ,” उहाँले भन्नुभयो ।

अध्यक्ष ढकालले निजी क्षेत्रमाथि भएका धरपकड र निजी व्यवसायमाथि गरिएको प्रहारले निजी क्षेत्र भयभित भएको बताउनुभयो । “निजी क्षेत्रले उत्पादन गरेको छ । पूर्वाधार निर्माण गरेको छ । सेवा दिएको छ । रोजगारी सिर्जना गरेको छ । राजस्व तिरेको छ तर निजी क्षेत्र किन सधैँ उपक्षित भएको छ,” उहाँले गुनासो गर्नुभयो ।

अध्यक्ष ढकालले स्थानीय रूपमा आयोजना गरिने मेला महोत्सवले स्थानीय उत्पादनको प्रवर्धन तथा बजारीकरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने बताउँदै यस्ता मेला महोत्सवलाई महासङ्घले सदैव प्राथमिकतामा राख्ने गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology