Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको ध्यानाकर्षण


1.2K
Shares

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौँ, १३ माघ । राष्ट्रियसभा सदस्यहरुले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभाको आजको बैठकको विशेष समयमा उहाँहरुले राष्ट्र र जनताको हितमा हस्तक्षेप गर्न सक्ने उम्मेदवारलाई विजयी गराउन मतदातालाई आग्रह गर्नुभयो ।

नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रियसभाका सचेतक गङ्गाकुमारी बेलबासेले बेथिति र भ्रष्टाचार, वैदेशिक हस्तक्षेपका विरुद्ध सशक्त आवाज उठाउने उम्मेदवारलाई विजयी गराउनुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “मतको दुरुपयोग नगर्नुहोला। सच्चा व्यक्ति र मतको कदर गर्ने व्यक्तिलाई जिताउन अपिल गर्छु। अब बन्ने सरकारले विकृति र विसङ्गति रोक्ने र बेरोजगारीको अन्त्य गर्नुपर्छ।”

उहाँले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झन्डाको दुरुपयोग भएकाले राष्ट्रिय झन्डा दुरुपयोग गर्नेलाई कारबाही गर्नुपर्ने बताउनुभयो। सोही पार्टीका सांसद राजेन्द्रलक्ष्मी गैरेले अघिल्लो सरकारले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न नसक्दा जेनजी आन्दोलन भएको यथार्थ प्रस्तुत गर्दै मुलुकको समृद्धिका लागि सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो।

राजनीतिक अनिश्चितताका बीच निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न लागेको सरकारलाई धन्यवाद दिँदै उहाँले राष्ट्र र जनताको सर्वोत्तम हित गर्न सक्ने उम्मेदवारलाई निर्वाचनमा विजयी गराउनुपर्ने बताउनुभयो।

नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपीबहादुर सार्की अछामीले लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनबाहेक कुनै विकल्प नरहेको उल्लेख गर्दै निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कांग्रेस सांसद नारायणदत्त मिश्रले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउँदै दल तथा उम्मेदवारलाई मत माग्न र मतदातालाई ढुक्क भएर मतदान गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद मिश्रले जेनजी आन्दोलनले सकारात्मक र नकारात्मक पाटोप्रति सदैव सचेत हुनुपर्ने बताउनुभयो ।

“यो आन्दोलनले सबै एक हौँ भन्ने भावना विस्तार र युवालाई एकजुट गरायो, तर कसैलाई शासनबाट लेखट्न वैचारिक र वैधानिक बाटोको सट्टा तोडफोड र आगजानी गर्ने खराब बाटोबाट देशका युवाहरु उद्यत हुन्छन् भन्ने चिन्ताले सताएको छ”, उहाँले भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद गोपाल भट्टराईले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी र प्रहरीबाट लुटिएका हतियार निर्वाचन सुरक्षामा चुनौती बन्न सक्ने उल्लेख गर्दै सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। मुलुकलाई असफल राष्ट्र बनाउने चलखेल भइरहेको जनाउँदै उहाँले यसप्रति संसद् चनाखो बन्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology