रुकुम पूर्व, ७ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘देश चलाउन’ विदेशी शक्तिहरू सक्रिय भएको भन्दै त्यसलाई रुकुमको धर्तीबाटै जवाफ दिने बताउनुभएको छ ।
रुकुम पूर्वमा आज आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले सो कुरा बताउनुभएको हो । उहाँले दाङदेखि रोल्पा हुँदै रुकुम पूर्वको हुकाम र मैकोटलाई डोल्पाको सहरतारासँग जोडेर चीनसम्म पुग्ने व्यापारिक मार्ग बनाउने बताउनुभयो ।
रुकुम पूर्व हिमाली जिल्ला भइसकेकाले यसलाई ‘विशेष स्वायत्त प्रदेश’ बनाउन पहल गर्ने उहाँले बताउनुभयो । रुकुम पूर्वलाई विकासको नयाँ मोडलमा लैजाने आश्वासन उहाँले दिनुभयो ।
आफू जहाँबाट लड्यो, त्यहीँको मुहार फेरेको दाबी गर्दै उनले विरोधीहरूलाई कामबाटै जवाफ दिने जिकिर गर्नुभयो । देशको जटिल राजनीतिक अवस्थालाई निकास दिन आफू पुनस् जनयुद्धको आधारभूमि रुकुम फर्किएको उहाँले दोहोर्याउनुभयो । आफ्नो उम्मेदवारी केबल संसद् प्रवेशका लागि नभई देशलाई नयाँ राजनीतिक दिशा दिनका लागि भएको उहाँले दाबी गर्नुभयो ।
देशभरिको ध्यान आफूमाथि केन्द्रित भएको बताउँदै प्रचण्डले आफू रुकुम आउनुको कारण सुनाए, ‘म रुकुम आउनुको अर्थ यहाँको सुन्दर सहर निर्माण र ग्रामीण सडकको स्तरोन्नति मात्र होइन, यो समग्र देशलाई शान्तिपूर्ण अठोटतिर लैजाने कदम हो ।’
जेनजी भदौ २४ को आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण भदौ २६ गते रातभरको छलफलपछि संसद् विघटन गरेर चुनावमा जाने निर्णय लिइएको उहाँले बताउनुभयो । ‘देशलाई ठूलो दुर्घटनाबाट जोगाउन र ताजा जनादेशमार्फत निकास निकाल्न त्यो निर्णय अनिवार्य थियो,’ प्रचण्डले भन्नुभयो ।
माओवादी सशस्त्र युद्धकालमा चुनबाङ बैठकले शान्ति प्रक्रियाको यात्रा सुरु गरेको स्मरण गर्दै उहाँले अब रुकुम पूर्वले समाजवादको यात्राको नेतृत्व गर्ने धारणा राख्नुभयो ।