Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु


1.3K
Shares

गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

 

गोरखा, २९ पुस : गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरबाट भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ सुरु भएको छ । गोरखनाथ तथा कालिका मन्दिरको प्रचार–प्रसार गर्दै जिल्लामा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित आज बिहान बाजागाजासहित गोरखपुरका लागि ‘खिचडी यात्रा’ निस्किएको गौमाता सेवा महासंघ गोरखाका अध्यक्ष होमसिंह बस्यान्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोरखा जिल्लामा धार्मिक तथा आन्तरिक पर्यटक वृद्धि गर्ने उद्देस्यले गएको तीनबर्षदेखि गोरखाबाट गोरखपुरसम्म ‘खिचडी यात्रा’ गरिदैँ आएको छ । गोरखाबाट निस्किएको खिचडी यात्रा आज भैरहवा पुग्ने र यहीँ माघ १ गते गोरखपुर पुग्ने कार्यक्रम रहेको अध्यक्ष बस्न्यातले बताउनुभयो ।

‘‘माघी पर्वको अवसरमा प्राचीनकालदेखि नै गोरखाको गोरखनाथ मन्दिरबाट गोरखपुरस्थित गोरखनाथ मन्दिरमा खिचडी पठाउने चलन रहेको थियो, उहाँले भन्नुभयो, ‘‘तर २० वर्षभन्दा बढी समयदेखि रोकिएको उक्त परम्परालाई पुनः निरन्तरता दिन थालिएको हो ।’’

पुनः सुरु गरिएको खिचडी यात्राले हराउँदै गएको परम्परालाई जर्गेना गर्न मद्दत पुगेको अध्यक्ष बस्न्यातको भनाई छ । परम्पराअनुसार गोरखाबाट लगिएको खिचडी गोरखपुरस्थित उत्तर प्रदेशको गोरखनाथ मन्दिरमा लगेर चढाइने गरिन्छ । खिचडी चामल, मासको दाल, घ्यू, नुन, बेसारलगायतका खाद्यवस्तु मिसाएर बनाइन्छ ।

गोरखनाथ मन्दिरबाट प्रसादको रुपमा लिएर गएको खिचडी उत्तर प्रदेशको गोरखनाथ मन्दिरमा माघी पर्वका दिन ब्रम्ह्मूहुर्तको समयमा चढाएपछि मात्र त्यहाँ खिचडी भोग गर्ने परम्परा रहेको उहाँले बताउनुभयो ।

‘खिचडी यात्रा’मा करिब ५० जनाको टोली गोरखपुरतर्फ प्रस्थान गरेको हो । यात्राले दुई देशबीचको परम्परागत धार्मिक तथा सांस्कृतिक सम्बन्ध जोगाउन थप सहयोग पुग्ने गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले बताउनुभयो ।

खिचडी पु¥याउने परम्पराको पुनः थालनीसँगै उत्तर प्रदेश र गोरखाबीचको धार्मिक सम्बन्ध थप बलियो हुँदै जाने र यसले गोरखा जिल्लामा लाखौं धार्मिक पर्यटकसमेत भित्र्याउन सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology