Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सिरानचोकमा न्यायिक समितिका पदाधिकारी मेलमिलापकर्तालाई लेखन सीप तालिम


2.2K
Shares

सिरानचोकमा न्यायिक समितिका पदाधिकारी मेलमिलापकर्तालाई लेखन सीप तालिम

गोरखा, २८ पुस : गोरखाको सिरानचोक गाउँपालिकाको आयोजनामा न्यायिक समितिका पदाधिकारी तथा मेलमिलापकर्ताहरुका लागि लेखन सीप सम्बन्धी तालिम प्रदान गरिएको छ । तालिममा गाउँस्तरमा देखिने विवादहरु घरेलु झैँझगडा, जग्गा–जमिन र सिमाना विवाद, लेनदेन, सामाजिक तथा पारिवारिक मतभेदलगायतको समाधान प्रक्रियामा लेखन, सहमति निर्माण र निर्णय अभिलेखीकरण बिषयमा सहभागीहरुलाई प्रशिक्षण प्रदान गरिएको हो ।

तालिमका क्रममा विवादका पक्षहरूबीच विश्वास निर्माण गर्ने तरिका, सहमतिको भाषा र संरचना, सहमति लेखनका आधारभूत सीपबारे सहभागीलाई जानकारी गराइएको न्यायिक समितिका सदस्य एवं सिरानचोक गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष जगदिश्वर ढकालले जानकारी दिनुभयो । मेलमिलापकर्ताले कुनै पनि पक्षप्रति पूर्वाग्रह नराख्ने, कानुन विपरीतका निर्णय नगर्ने, दबाब वा प्रभावमा नपर्ने र विवादलाई शान्तिपूर्ण ढंगले समाधान गर्ने बिषयलाई तालिममा विशेष जोड दिइएको उहाँले बताउनुभयो ।

साथै हिंसा, आपराधिक गतिविधि तथा गम्भीर कानुनी मुद्दा मेलमिलापको दायराभित्र नपर्ने भएकाले त्यस्ता विषय सम्बन्धित निकायमा पठाउनुपर्नेबारे पनि तालिममा जानकारी गरिएको हो । तालिमबाट मेलमिलापकर्ताको क्षमता अभिवृद्धि भई गाउँपालिकामा देखिने विवाद समाधान प्रक्रिया थप व्यवस्थित र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

मेलमिलापकर्ताले आफ्नो भूमिकामा रहँदा गर्न हुने र नहुने व्यवहारबारे स्पष्ट हुनुपर्ने र गोपनीयता कायम गर्नुपर्ने बिषय समेत तालिममा जानकारी गराइएको उहाँको भनाई छ । आइतबार र सोमबार सञ्चालन भएको तालिममा गाउँपालिका न्यायिक समिति संयोजक रिता देवकोटाले यस्ता विवादको प्रकृति बुझेर निरुपण गर्ने सीप अत्यावश्यक रहेको बताउनुभयो । उहाँले गाउँमा शान्ति, सद्भाव र न्याय स्थापना गर्न मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले यस्ता तालिमले न्यायिक समितिको कामलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै सिकेका सीप व्यवहारमा उतारेर स्थानीय तहमा आउने विवाद छिटो, सहज र न्यायोचित रूपमा समाधान गर्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सिरानचोक गाउँपालिकाका न्यायिक सहजकर्ता तथा अधिवक्ता रजनि गजुरेलले न्यायिक समितिका लागि लेखन सीपसम्बन्धी सहजीकरण गर्नुभएको थियो । सीप लेखन तालिम समापन कार्यक्रम गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology