Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चिसो मौसम बढेसँगै अस्पतालमा बिरामीको चाप बढ्न थाल्यो


798
Shares

चिसो मौसम बढेसँगै अस्पतालमा बिरामीको चाप बढ्न थाल्यो

 

काठमाडौँ, २६ पुस । चिसो मौसम बढेसँगै अस्पतालहरूमा बिरामीको चाप बढ्न थालेको छ । उपत्यकाका वीर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा चिसोका कारण हुने बिरामीको चाप बढेको हो ।

जाडो मौसममा विशेष गरी बालबालिका र ज्येष्ठ नागरिकहरू बढी जोखिममा हुन्छन् । कान्ति बाल अस्पतालमा गर्मी मौसमको तुलनामा बिरामीको सङ्ख्या घटे पनि चिसोबाट उत्पन्न समस्याका कारण अस्पताल आउने बिरामीको सङ्ख्या अधिक रहेको छ ।

कान्ति बाल अस्पतालका निर्देशक डा। पङ्कज रायले अस्पतालमा दैनिक छ सय बिरामी आउने गरेको जानकारी दिनुभयो । उहाँले जाडो मौसममा कान्ति बाल अस्पतालमा आउने अधिकांश बिरामी चिसोका कारण हुने रोग लागेर आएको बताउनुभयो ।

पाटन अस्पतालका प्रशासन प्रमुख प्रकाश खड्काले अस्पतालमा दैनिक ८० देखि सय जनासम्म बिरामी चिसो मौसमका कारणले हुने रोगको उपचारका लागि आउने गरेको बताउनुभयो ।

यस्तै टेकु अस्पतालका प्रमुख युवानिधि बसौलाले अस्पतालमा जाडो मौसमका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि भएको जानकारी दिँदै दम, स्वासप्रस्वास, छालासम्बन्धी समस्या, रुघाखोकी जस्ता समस्याका बिरामीहरू आउने गरेको बताउनुभयो ।

वीर अस्पतालका निर्देशक डा। दिलिप शर्माले पनि जाडो बढेसँगै अस्पतालमा बिरामीको चाप बढ्न थालेको जानकारी दिनुभयो । उहाँका अनुसार जाडोबाट बढी असर गर्ने रोगका कारण अस्पताल आउने बिरामीको सङ्ख्या २५ प्रतिशतसम्म बढेको छ ।

उहाँले अस्पतालमा रुघाखोकी, निमोनिया, ब्रोङ्काइटिस, छालाको समस्याबाट हुने बिरामीको सङ्ख्या बढेको भन्दै सामान्य अवस्थाभन्दा ती रोगबाट अस्पताल आउने बिरामी वृद्धि भएको बताउनुभयो । उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा तापक्रम घटेसँगै निमोनिया, ब्रोङ्काइटिस, छालाको समस्या, झाडापखाला, धुलो धुवाँको कारणले हुने एलर्जी, रुघाखोकी, बाथलगायतका बिरामीको सङ्ख्या बढेको छ ।

अधिकांश बिरामी निमोनिया, घ्यार घ्यार, घाँटीको समस्या र झाडापखालाको समस्या लिएर आउने गरेको र अस्पतालमा आउने बिरामीमध्ये दैनिक २५ देखि ३० जनालाई अस्पतालमै भर्ना गरेर राख्नु परेको उहाँले बताउनुभयो । यस्तै आकस्मिक कक्षमा दैनिक १५० बिरामी आउने गरेकामा १० जनालाई अस्पतालमै भर्ना गरेर उपचार गरिएको जानकारी दिनुभयो ।

निर्देशक डा। रायले चिसोबाट जोगिन सावधानी अपनाउन सुझाव दिनुभयो । न्यानो कपडा लगाउने, बिहान र बेलुका अत्यधिक चिसोमा बाहिर ननिस्कने, घरभित्र पनि पर्याप्त न्यानोपन कायम गर्ने जस्ता सामान्य उपायले धेरै हदसम्म चिसोबाट बच्न सकिन्छ । बालबालिकालाई टोपी, मोजा, पन्जा लगाइदिने र राति सुत्दा न्यानो ओड्ने व्यवस्था गर्नुपर्ने उहाँको सुझाव छ ।

उहाँले चिसो मौसममा खानपानमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । तातो खाना, सुप, झोलिला परिकार, प्रशस्त तरल पदार्थ सेवन गर्नाले शरीरलाई न्यानो राख्न र रोगसँग लड्न मद्दत पुग्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology