Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा परालको टौवामा उम्रिएको च्याउ खाँदा एउटै परिवारका चार जना बिरामी


1.8K
Shares

गोरखामा परालको टौवामा उम्रिएको च्याउ खाँदा एउटै परिवारका चार जना बिरामी

गोरखा — गोरखा नगरपालिका–१४, प्युघरमा परालको टौवामा उम्रिएको च्याउको तरकारी खाँदा एउटै परिवारका चार जना बिरामी भएका छन्। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मकवानपुर बागमती नगरपालिका–१३ घर भई हाल गोरखा नपा–१४ स्थित राममाया भण्डारीको घरमा डेरा गरी बस्दै आएकी ३० वर्षीया हिरा पहरीको परिवार च्याउ विषाक्तताबाट बिरामी परेको हो।

सोमबार साँझ करिब ६ बजे घर नजिकै रहेको परालको थुप्रो (टौवा) मा उम्रेको जंगली च्याउ टिपेर पकाई तरकारी बनाएर खाएपछि उनीहरू अस्वस्थ भएका प्रहरीले जनाएको छ। पेट दुख्ने, वाकवाकी लाग्ने र अत्यधिक थकान जस्ता लक्षण देखिएपछि परिवारका सदस्यलाई तत्काल उपचारका लागि तनहुँको आबुखैरेनी गाउँपालिका अस्पताल पु¥याइएको प्रहरीको भनाइ छ।

बिरामीमध्ये आमा हिरा पहरीसहित १२ वर्षीय छोरा किसान पहरी, ६ वर्षीय छोरा हिमाल पहरी र ५ वर्षीया छोरी सुजिता पहरी रहेको प्रहरीले जनाएको छ। चारै जनाको अवस्था बोल्न सक्ने तर मध्यम रूपमा अस्वस्थ रहेको र अस्पतालमा चिकित्सकको निगरानीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले जंगली वा पहिचान नटुगिएका च्याउ टिपेर खान नहुने, विशेष गरी परालका टौवा, बारीछेउ र वनक्षेत्रमा उम्रिने च्याउमध्ये धेरै विषाक्त हुन सक्ने भएकाले सावधानी अपनाउन स्थानीयलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology