गोरखा, २० पुस ः उत्तरी गोरखाको धार्चे गाउँपालिका–३, उहियामा भएको निःशुल्क स्वास्थ्य शिविरमा करिब २ हजार जनाभन्दा बढी लाभाव्दित भएका छन् । धार्चे गाउँपालिका गोरखा, प्रदेश जनस्वास्थ्य कार्यालय, गोरखा, प्रदेश अस्पताल गोरखा र प्रदेश आयुर्वेद चिकित्सालय गोरखाको संयुक्त आयोजनामा भएको दुईदिने शिविरमा २ हजार ८० जनाले उपचार सेवा लिएका हुन् ।
शिविरमा नसर्ने रोग स्क्रिनिङदेखि क्षयरोग, कुष्ठरोग, दन्त उपचार सेवा, पाठेघर, मुटु, पोषण तथा मनोपरामर्शसम्बन्धी सेवा प्रदान गरिएको गाउँपालिका स्वास्थ्य शाखाका शााखाले जनाएको छ । जसअन्र्तगत ३६१ जनाले नसर्ने रोगको ‘स्क्रिनिङ’ जाँच सेवा लिएका छन् । त्यस्तै ३४५ जनाको परीक्षण, १३८ जनाको कुष्टरोगको ‘स्क्रिनिङ’ जाँच गरिएको छ ।
शिविरमा ३७७ जनाको छातीको एक्सरे जाँच गराएका थिए । जसमध्ये ६ जनामा क्षयरोग पुष्टी भएको छ भने ११ जनामा क्षयरोगको लक्षण देखिएकाले थप परीक्षणका लागि खकारको नमुना संकलन गरिएको जनाइएको छ ।
त्यस्तै शिविरमा २६१ जनाले दन्त परीक्षण गराएका थिए भने ६५ जना महिलाले पाठेघरको मुखको क्यान्सर जाँच गराएका छन् । तीमध्ये ४ जनामा ‘भिआइए पोजेटिभ’ पाइएको शाखाले उल्लेख गरेको छ । शिविरमा ९५ जनाले मनोसामाजिक परामर्स सेवा, १५ वर्ष मुनिका २१३ जना बालबालिकाको मुटुरोगको स्क्रिनिङ सेवा, ५ वर्ष मुनिका २२५ बालबालिकाको पोषण जाँच सेवा प्रदान गरिएको छ ।
त्यस्तै शिविरमा २ जना बालबालिकाको आंशिक खोप छुटको पहिचानसमेत भएको उहाँले बताउनुभयो । प्रदेश अस्पताल गोरखाका निमित्त प्रमुख डा.सिदार्थ खनाल नेतृत्वको चिकित्सकसहितको स्वास्थ्यकमीको टोलीले स्वास्थ शिविरमा उपचार सेवा प्रदान गरेका थिए ।