Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखाको आरुघाटमा करेन्ट र विष प्रयोग गरी माछा मार्न कडा प्रतिबन्ध


1.3K
Shares

गोरखाको आरुघाटमा करेन्ट र विष प्रयोग गरी माछा मार्न कडा प्रतिबन्ध

गोरखा १६ पुस । गोरखाको आरुघाट गाउँपालिकाले आफ्ना सीमा भित्रका नदी, खोल्सा, ताल र अन्य जलाशयहरूमा विद्युतीय करेन्ट र विषादी प्रयोग गरी माछा मार्न पूर्ण रुपमा निषेध गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले मंगलबार सूचनामार्फत यस्ता अवैध क्रियाकलापमा संलग्न हुने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कडा कानुनी कारबाही गरिने चेतावनी दिएको हो ।

गाउँपालिकाभित्र हालका दिनमा केही व्यक्तिहरूले लुकीछिपी विद्युतीय करेन्ट, प्रतिबन्धित विष तथा विषादी प्रयोग गरी माछा मार्ने गरेको गुनासो बढेपछि यस्ता गैह्रकानुनी कार्य रोक्न गाउँपालिकाले सूचनामार्फत सचेत गराएको हो । प्रशासकीय अधिकृत विवेक खनालले जारी गरेको सूचनामा “यस्ता घातक विधि प्रयोगले जलचर विनाश हुनुका साथै वातावरणीय सन्तुलनमा गम्भीर असर पर्ने र मानव स्वास्थ्यसमेत जोखिममा पर्ने” उल्लेख गरिएको छ ।

गाउँपालिकाले व्याट्री, इन्भर्टर वा अन्य विद्युतीय उपकरण प्रयोग गरी नदी, खोल्सा वा जलाशयमा करेन्ट प्रवाह गरेर माछा मार्न पूर्ण रूपमा निषेध गरेको छ ।

नदी तथा खोलामा माछा मार्दा रासायनिक विष वा जडीबुटीजन्य घातक तत्वहरु पानीमा हाल्न नपाइने पनि गाउँपालिकलो प्रष्ट पारेको छ। यसबाहेक महाजाल वा साना प्वाल भएका जाल प्रयोग गरी साना भुरा माछासमेत सखाप पार्ने प्रवृत्ति रोक्न प्रविधिको यस्ता दुरुपयोगमा पनि प्रतिबन्ध लगाइएको छ ।

गाउँपालिकाले यसलाई जलचर संरक्षणसँगै दीगो जलस्रोत व्यवस्थापनको दृष्टिले महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ। “सूचनाको उल्लंघन भएको खण्डमा प्रचलित कानुनअनुसार जरिवाना तथा थप कानुनी कारबाही गरिनेछ,” सूचनामा उल्लेख छ ।

यसका लागि अवैध माछा मार्ने गतिविधि देखे वा थाहा पाए जवाफदेही नागरिकका रूपमा नजिकको प्रहरी चौकी वा गाउँपालिकाको कार्यालयमा खबर गर्न पनि गाउँपालिकाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

आरुघाट गाउँपालिकाले सबै गाउँपालिकावासीलाई वातावरण संरक्षणमा सहयोग पुर्‍याउन, जलस्रोत र जलचरको दीगो संरक्षणलाई सामूहिक जिम्मेवारीका रूपमा लिन र अवैध माछा मार्ने क्रियाकलाप विरुद्ध एकजुट हुन अपिल गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology