गोरखा, १५ पुस । गोरखामा आयोजित ‘म्यान अफ द गोरखा’ दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राजन रोकायले जित्नु भएको छ । गोरखा उद्योग बाणिज्य संघ गोरखाले १२ औं गोरखा महोत्सवको अवसरमा सदरमुकाममा आज आयोजना गरेको प्रतियोगितामा कुल ८ किलोमिटर दुरी त्रिभुवन आर्मी क्लबका धावक रोकायले २९ मिनेट ३८ सेकेण्डमा पुरा गरेर उपाधि हात पार्नु भएको हो ।
गोरखा नगरपालिका–५, स्थित ऐतिहासिक पस्लाङ चौताराबाट सुरु भएको दौड हनुमान भञ्ज्याङ हुँदै गोरखा दरबार परिसरमा समापन भएको थियो । प्रतियोगितामा नेपाली सेनाकै गणेश रावलले ३० मिनेट १८ सेकेण्डमा दौड पुरा गर्दै दोस्रो हुनुभएको संघका अध्यक्ष भगवान बाबु मास्केले जानकारी दिनुभयो ।
त्यस्तै त्रिभुवन आर्मी क्लबका अर्का धावक टंकबहादुर कार्कीले निर्धारित दुरी ३० मिनेट ५९ सेकेण्डमा पुरा गरेर प्रतियोगिता तेस्रो हुनुभएको छ । प्रतियोगितामा नेपाल प्रहरीका सन्तोषनाथ योगीले सान्तवना स्थान प्राप्त गर्नुभएको छ ।
उहाँले निर्धारित दुरी ३१ मिनेट २५ सेकेण्डमा पुरा गर्नुभएको थियो । त्यस्तै, सान्त्वना स्थान ससस्त्र प्रहरी वलकी धाविका आष्मा बि.कले निर्धारित दुरी ४२ मिनेट १० सेकेन्डमा पूरा गरेर सान्तव्ना स्थान हासिल गर्नुभएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार नगद सहिद प्रमाणप्रत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।