काठमाडौ, १३ , पुस । शिक्षकद्वारा विद्यार्थीमाथि कुटपिट भएको छ । सुनसरीको हरिनगर गाउँपालिका–४ मा शिक्षकले विद्यार्थीमाथि कुटपिट गरेकाछन् । हरिनगरा माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १३ वर्षीया छात्रा पूजा कुमारी दासलाई ४७ वर्षीय शिक्षक रघुनाथ मेहताले कुटपिट गर्नुभएको हो ।
गृहकार्य नगरेको भन्दै यही पुस ९ गते दासलाई शिक्षक मेहताले मुक्का र लठ्ठीले कुटपिट गर्नुभएको थियो । मेहताले आफ्नो घरायसी विवादका कारण तनाव रहेकाले कुटपिट गरेको कक्षामा अध्ययनरत विद्यार्थीहरूले दाबी गरेका छन् । बालिकाका माथि आक्रमण र कुटपीट गरेको भन्दै दासका अभिभावक सुरेश पालले शिक्षकमाथि कारबाही गर्नु पर्ने माग गर्नुभएको छ ।
यसैबिच, पुस ११ गते हरिनगरा माध्यमिक विद्यालयमा विद्यार्थी कुटपिटको विषयलाई लिएर दुई पक्षबिच वार्ता भएको थियो । उक्त वार्तामा दुवै पक्षले आफ्ना–आफ्ना धारणा स्पष्ट रूपमा राख्दै विद्याार्थीहरूलाई अनुशासनमा बस्नुपर्ने र शिक्षकले गल्ती स्वीकार गर्नुभएको र अबदेखि भौतिक आक्रमण र कुटपिट नगर्ने गरी आपसी सहमतिमा पुगेको प्रधानाध्यापक बलराम मण्डलले जानकारी दिनुभएको छ ।
स्थानीय पत्रकार जुगेस दासले शिक्षकजस्तो सम्मानित र जिम्मेवार पदमा बसेर अनावश्यक अहङ्कार देखाउनु उचित नभएको प्रतिकृया दिनुभएको छ ।