Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

१२ औँ गोरखा महोत्सव पौष १४ देखि सुरु हुने


2K
Shares

१२ औँ गोरखा महोत्सव पौष १४ देखि सुरु हुने

गोरखा, ४ पुस । गोरखामा आयोजना हुने १२ औँ गोरखा महोत्सव यही पौष १४ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने भएको छ । गोरखा उद्योग वाणिज्य संघको आयोजनामा सदरमुकामस्थित खेलकुद मैदानमा हुने यो महोत्सव प्रदेश स्तरीय हुने जनाइएको छ ।

महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम तय भएको गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगवानबाबु मास्केले जानकारी दिनुभयो ।

आज गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवसम्बन्धी विस्तृत जानकारी सार्वजनिक गर्दै अध्यक्ष मास्केले यसअघि महोत्सव पौष ४ गतेदेखि १४ गतेसम्म गर्ने तयारी भए पनि विभिन्न कारणले सो समयमा आयोजना गर्न नसकिएको बताउनुभयो ।

ती कारणहरू समाधान भएसँगै नयाँ मिति तय गरी तयारीलाई तीव्र बनाइएको उहाँको भनाइ छ । महोत्सवलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्नका लागि २२ वटा उप–समिति गठन गरी काम सुरु गरिएको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मास्केले गोरखा महोत्सवको मुख्य उद्देश्य क्रेता र विक्रेताबीच पुलको काम गर्नु रहेको स्पष्ट पार्नुभयो। स्थानीय उत्पादन, घरेलु उद्योग, कृषि तथा व्यवसायिक गतिविधिलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ । महोत्सव स्थलमा १०० वटा स्टल राखिने छन्।

ती स्टलहरूमा घरेलु उत्पादनदेखि किसानले उत्पादन गरेका विभिन्न कृषि उपज, स्थानीय तथा क्षेत्रीय उत्पादनहरूको प्रदर्शन तथा बिक्री गरिनेछ ।

साथै, गोरखाको पहिचान झल्कने विभिन्न संस्कृति, कला र परम्परासँग सम्बन्धित सामग्रीहरू पनि प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ । १५ दिनसम्म सञ्चालन हुने महोत्सवमा करिब १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। सो अवधिमा करिब ३ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष मास्केले जानकारी दिनुभयो । महोत्सव सञ्चालनका लागि कुल ८५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

गोरखा उद्योग वाणिज्य संघका अनुसार महोत्सवले स्थानीय व्यवसायी, किसान र उपभोक्तालाई एकै स्थानमा जोड्दै आर्थिक गतिविधि बढाउने विश्वास लिइएको छ। महोत्सवमार्फत गोरखाको उत्पादन, सम्भावना र व्यावसायिक क्षमतालाई प्रदेश तथा बाह्य बजारसम्म चिनाउने लक्ष्य पनि लिइएको आयोजकको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology