गोरखा, २ पुस ः गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित जनप्रेमी युवा क्लब, जराङको आयोजनामा ‘१७ औँ जराङ कप ‘२०८२’ यहीँ आउने माघ १ गतेदेखि सञ्चालन हुनेभएको छ । “विकास, अनुशासन र गतिशीलता” भन्ने मूल नाराका क्लबको आयोजनामा खुल्ला ७–ए–साइड फुटबल प्रतियोगिताको आयोजना गर्न लागिएको क्लबका अध्यक्ष प्रज्वल देवकोटाले जानकारी दिनुभयो ।
प्रतियोगिता जराड़स्थित जनप्रेमी खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिता आउँदो माघ १ गतेदेखि माघ ५ गतेसम्म सञ्चालन हुने उहाँले बताउनुभयो । प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरका विभिन्न क्लब तथा टिमहरुको सहभागिता रहने जनाइएको छ । प्रतियोगितामा सहभागिता जनाउन इच्छुक टिमले माघ १ सम्ममा टिम दर्ता गराइसक्नुपर्ने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेता टिमलाई रु. १ लाख १२ हजार २२२ नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, उपविजेतालाई हुने टिमलाई रु. ५७ हजार ७७७ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष देवकोटाले बताउनुभयो । साथै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर तथा सर्वाधिक गोलकर्तालाई जनही रु.२ हजार नगद पुरस्कारसहित कप प्रदान गरिने अध्यक्ष देवकोटाले बताउनुभयो ।
प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता शुल्क रु. ७ हजार तोकिएको छ भने डिपोजिट शुल्क रु. १ हजार राखिएको छ । जिल्लाको खेलकुद विकासमा योगदान पु¥याउने उद्देश्यका साथ क्लबले बिगत १७ बर्षदेखि फुटवल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
जनप्रेमी युवा क्लबले यस किसिमका प्रतियोगिताले स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै अनुशासन, सहकार्य र नेतृत्व विकासमा टेवा पुग्ने विश्वास लिएको छ । साथै, ग्रामीण क्षेत्रमा खेलकुद गतिविधि विस्तार भई प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुग्ने अपेक्षा क्लबले लिएको उहाँले बताउनुभयो ।