गोरखा, २७ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माणको काम अघि बढाउन पहल भइरहेको बताउनु भएको छ ।
गोरखाको भीमसेन थापा गाउँपालिका–८ महादेवटारस्थित श्री जागेश्वर माध्यामिक विद्यालयको स्वर्ण जयन्ती उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले आयोजना निर्माणको काम तत्काल अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री पाण्डेले गोरखा र धादिङको सिमानामा बन्ने उक्त आयोजनाले जलविद्युत क्षेत्रको विकासमात्र नभई प्रभावित क्षेत्रको जनताको आयआर्जनमा ठूलो टेवा पुग्ने बताउनुभयो ।
उहाँले संघ सरकारलाई आयोजना छिटो सम्पन्न गर्न दवाव दिने उद्देस्यले गोरखा र धादिङमा पर्ने बुढीगण्डकी करिडोर क्षेत्रमा गण्डकी प्रदेश र बाग्मती प्रदेश सरकारको संयुक्त बैठकको तयारी भइरहेको जानकारी दिनुभयोे ।‘‘अव आयोजना क्षेत्रका स्थानीय सरकारका प्रतिनिधिलाई पनि राखेर दुवै प्रदेश सरकारको बैठक करिडोर क्षेत्रमा गर्ने गरि छलफल भइरहेको छ, उहाँले भन्नुभयो, ‘‘आयोजना निर्माण जसरी भएपनि छिटो सम्पन्न गर्नुपर्छ ।’’
आयोजना निर्माणको अन्यौलता हटाउन पटक–पटक पहल गरेको भएपनि त्यसलाई मूर्तरुप दिन नसकिएको उहाँले स्पष्ट पार्नुभयो । मुख्यमन्त्री पाण्डेले सकारात्मक सोचले मात्र सम्बृद्ध नेपाल निर्माण गर्न सकिने भन्दै देशमा केही पनि भएन भन्ने भाष्य सृजना गरेर मात्र देश नबन्ने उल्लेख गर्नुभयो ।
‘‘अहिले सवैले ठगेर खाइरहेका छन्, सवैले लुटेर खाइरहेका छन्, सवैले भ्रष्टाचार गरेर खाइरहेका छन् भनेर भाष्य निर्माण गर्ने कोसिस भइरहेको छ, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘‘अहिले वास्ताविकता बुझ्ने प्रयास कसैले गरेका छैनन्, नकारात्मक सोच र भावनाले मात्र देश बन्दैन् ।’’ सवैको सामुहिक प्रयासले सम्बृद्ध नेपाल निर्माण गर्न सकिने उहाँको भनाई छ ।
मुख्यमन्त्री पाण्डेले कृषिका लागि गोरखामा पठाइएको बजेट खर्च हुन सकिरहेको छैन् कृषकहरु सचेत भएर बजेटको सहि सदुपयोग गर्नसमेत अनुरोध गर्नुभयो ।