गोरखा, २५ मंसिर । दुर्गम भुगोल, कठिन जीवनशैली र सीमित अवसरबीच शिक्षाको ज्वोती फैलाउने उत्तरी गोरखाको धार्चे गाउँपालिकाका एक विद्यालयका निवृत हुनभएका प्रधानध्यापकलाई हेलिकप्टर चार्टर गरेर विदाई गरिएको छ ।
धार्चे गाउँपालिका–२, रुन्चेतस्थित श्री गण्डकी माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर उपरकोटीलाई निवृत भएसंगै विद्यार्थीहरुले आर्थिक संकलन गरि हेलिकप्टर चार्टर विदाई गरेको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभयो ।
गोरखा नगरपालिका–४, फिनाम घर भएका उपरकोटी अहिले चितवनमा बसोबास गर्दै आउनु भएको छ । दुर्गम गाउँमा झण्डै ३८ वर्षसम्म निरन्तर शिक्षण सेवामा समर्पित उहाँको बिदाइ केवल एउटा औपचारिक कार्यक्रम बनेन, बरु समग्र धार्चे समुदायको भावनाको महासागर जस्तै बन्यो—जहाँ सम्मान, कृतज्ञता, गर्व र भावुकता एकैसाथ उर्लिए । “भुइँ मान्छेलाई आकाशमा उड्न सिकाउने गुरुको” उपमा पाउनु भएका प्रधानध्यापक उपरकोटीलाई आफैले मेहनत गरेर सफल बनाउनु भएका विद्यार्थीहरुले आकाशमा उडाएर विदाई गरे ।’’ उहाँले भन्नुभयो । स्वास्थ्य समस्याका कारण ५८ बर्षको शिक्षण पेशाबाट निवृत हुनुभएको हो ।
बिहानैदेखि विद्यालय परिसर फूलमाला, ब्यानर, प्लेकार्ड र विद्यार्थीका मुस्कानले सजिएको थियो। गाउँका वृद्ध आमाबुवा, काखमा साना बालबालिका लिएर आएका अभिभावक, टाढा–टाढाबाट फर्किएका भूतपूर्व विद्यार्थीहरु मिलेर उहाँको विदाई गरेको उपाध्यक्ष गुरुङले बताउनुभयो । बिदाइ कार्यक्रममा उहाँकै हातबाट दीक्षित भएका विभिन्न क्षेत्रमा स्थापित सफल व्यक्तिहरूले दोसल्ला ओढाएर सम्मान गर्दा दृश्य साँच्चिकै ऐतिहासिक बन्यो ।
कतिपयको आँखा रसाए, विदाई कार्यक्रमले वातावरणलाई अझ भावुक बनायो । विदाई कार्यक्रम निवृत प्रधानध्यापक उपरकोटीले धार्चे मेरो कर्मभूमि मात्र होइन, मेरो परिवार भएको बताउनुभयो । धार्चे गाउँपालिका–२, रुन्चेतले शिक्षकको बिदाइ मात्र गरेको छैन, एउटा जिउँदो इतिहासलाई शिरमा राखेर सम्मान गरेको छ ।
त्यो इतिहास आउने पुस्ताले पनि गर्वका साथ पढिरहनेछ । उहाँलाई काठमाडौँसम्म हेलिकप्टर चार्टर गरेर काठमाडौँ चितवनमा जाहाज चढाएर विदाई गरिएको हो । वि.स २०४५ साल फागुनदेखि उहाँले गण्डकी माध्यमिक विद्यालय रुञ्चेतमा अध्यापन सुरु गर्नुभएको थियो ।