गोरखा, २४ मंसिर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गोरखाको एकता सभा भोली (विहिबार) हुने भएको छ । साविक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द) को पार्टी कार्यालयमा हुने एकता सभामा जिल्लाभर नेता कार्यकर्ताको सहभागिता रहने माओवादी केन्द्र गोरखाका जिल्ला इन्चार्ज अमर तमुले जानकारी दिनुभयो ।
एकतासभाको तयारीका लागि बुधबार एकता प्रक्रियामा सहभागी रहेका जिल्ला भित्रका क्रियाशिल पार्टीका नेताहरुको संयुक्त बैठक सम्पन्न भएको उहाँले बताउनुभयो । बैठकमा साविक माओवादी केन्द्रका जिल्ला इन्चार्ज अमर तमु, केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य पशुराम रम्तेल, जिल्ला संयोजक छमबहादुर तमु, जिल्ला सचिव अकुर तिमल्सिना (आयाम), केन्द्रीय सल्लाहकार रामबहादुर ढकाल, साविक एकिकृत समाजवादीका विशेश्वर कट्टेल, जिल्ला अध्यक्ष यादव बस्नेतलगायतको सहभागिता रहेको थियो ।
एकता सभा विहान ११ बजेबाट सुरु हुनेछ । एकता सभाका लागि सवै तयारी पुरा भएको उहाँको भनाई छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ को प्रमुख आतिथ्यतमा हुन लागेको एकतासभामा नेता राजेन्द्र पाण्डे, हितराज पाण्डे, हरिराज अधिकारीलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
माओवादी केन्द्रलगायतका विभिन्न कम्युनिष्ट पार्टी बिच एकता भएर बनेको नेपाली कम्युनिष्ट पार्टीले प्रदेश तथा जिल्लास्तरमा एकता सभा र घोषणा कार्यक्रमलाई तिव्र वनाउदै गएको छ ।