गोरखा, २४ मंसिर । गोरखाको भीमसेन थापा गाउँपालिकाको चालु आर्थिक बर्ष २०८२÷०८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा सहभागीहरुले हिउदेँ बर्षाले धानबालीमा क्षति पुगेका किसानलाई राहातको व्यवस्था गर्नुपर्ने, किसानलाई सहज रुपमा रासायिक मल उपलब्ध गराउनुपर्ने, पालिका भित्रका टोलविकास संस्थाहरुको सञ्चालनका लागि सहयोग उपलब्ध गराउनुपर्नेलगायतका माग गरेका छन् ।
कार्यक्रममा भीमसेन थापा गाउँपालिकाका वडा नम्बर १ का टेकप्रसाद ढकालले गाउँपालिकाले किसानको धानबालीमा पुगेको क्षतिको मूल्याङ्कन गरेको भएपनि अहिलेसम्म राहत उपलब्ध नगराएको दुखेसो गर्नुभयो ।

कार्यक्रममा सहभागी वडा नम्बर ७ का रेवती पाण्डेले रासायनिक मलका लागि किसानले हरेक बर्ष हैरानी खेप्दै आउनु परेको गुनासो गर्नुभयो । उहाँले २५ बोरा रासायनिक मलका लागि आफुहरुले १२ हजारसम्म भाडा तिर्नुपरेको भन्दै सहकारीमार्फत किसानलाई मल वितरण गर्नसक्ने अवस्था रहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा सहभागी भीमसेन थापा गाउँपालिका–१ स्थित ठूलोपोखरी टोल विकास संस्थाका अध्यक्ष खुनप्रसाद भट्टले टोल विकास संस्था सञ्चालनका लागि गाउँपालिकाले उपलब्ध गराउने भनिएको रु १० सहयोग उपलब्ध नभएको बताउनुभयो । उहाँले टोल विकास संस्थाले ऋण काढेर संस्था नवीकरण गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रम नेपाल शिक्षक महासंघ भीमसेन थापा गाउँपालिकाका अध्यक्ष भूमी गोतामले पालिकाबाट प्रदान गर्ने सेवाप्रवाहमा जवाफदेहिताको कमी रहेको बताउनुभयो । कार्यक्रममा सहभागीहरुले उठाएको प्रश्नको जवाफ दिनुहुँदै गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले सिमित स्रोत, साधन र शक्तिले जनताको असिमित आवश्यकता पुरा गर्न नसकिने अवस्था रहेको बताउनुभयो ।
उहाँले भीमसेन थापा गाउँपालिका नमुना पालिकाको बाटोमा अघि बढेको भन्दै नागरिकहरुको तर्फबाट उठाएका सवै समस्याहरुलाई दोहोरिन नदिने गरि भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष अमृतादेवी वस्ती भट्टले गाउँपालिका भित्र प्रदेशमार्फत भएका विकासको योजनाहरु बढी गुनासो आउने गरेको बताउनुभयो ।

उहाँले अनुमगन समितिको संयोजकको हिसावले पालिका अन्र्तगतका सवै योजनाको प्रभावकारी अनुगमन गरेर मात्र भुक्तानी दिने गरिएको स्पस्ट पार्नुभयो । कार्यक्रममा सहभागीहरुले उठाएका प्रश्नको जवाफ दिनुहुँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले गाउँपलिकाले टोल विकास संस्थाहरुलाई रु १० हजार आर्थिक सहयोग उपलब्ध गराउने प्रक्रिया छिट्टै सुरु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बर्षाले धानबालीमा पुगेको क्षति विवरण संलकन गरेर राहतका लागि माथिल्लो निकायमा पहल गरिरहेको बताउनुभयो । कार्यक्रममा गाउँपालिका सामाजिक विकास शाखाका प्रमुख नारायण श्रेष्ठ, वडा नम्बर ५ का वडाध्यक्ष होमबहादुर बरामु, गाउँपालिका शिक्षा शाखाका प्रमुख यानबहादुर नेपाली, स्वास्थ्य शाखाका प्रमुख भेषराज खनाल, कृषि शाखाका प्रमुखलगायतले सहभागीहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए । कार्यक्रममा पालिका भित्रका १२० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।