गोरखा, १५ मंसिर । ज्येष्ठ नागरिक महासंघ गोरखाको तेस्रो कार्य समिति बैठक सम्पन्न भएकोे छ । बैठक लगत्तै महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रिय अध्यक्ष सुरेश श्रेष्ठले ज्येष्ठ नागरिकहरुको सवालमा सञ्चार माध्यममा कुनै पनि लेखहरु नआउने गरेको बताउनुभयो ।
‘ज्येष्ठ नागरिकहरु देशको सम्पत्ती हो’ उहाँले भन्नुभयो, ‘तर हाम्रा बारेमा नेपाली सञ्चार माध्यममा कुनै पनि सामाग्रीहरु प्रकाशन हुदैन ।’ उहाँले सञ्चार माध्यममा पनि ज्येष्ठ नागरिकहरुको सवालका बिषयमा कमल चाइदिन सञ्चारकर्मीहरु संग आग्रह गर्नुभएको थियो ।
जिल्लामा बैठक गर्ने र त्यहाँका ज्येष्ठ नागरिकहरुका बारेमा पनि जान्ने अवसर मिल्ने हुदा अबदेखी हरेक बैठक बाहिरी जिल्लामा गर्ने निर्णय भएको समेत श्रेष्ठले बतायनुभएको छ ।
बैठकमा आर्थिक बर्ष ०८१–०८२ को अडिट रिर्पोट पास गरिएको ज्येष्ठ नागरिक संघ गोरखाका अध्यक्ष एवं ज्येष्ठ नागरिक महासंघका महासचिव मोहनलाल श्रेष्ठले जानकारी दिनुभयो ।
तर अडिटका बारेमा बिस्तृत विवरण प्राप्त हुन नसकेकोले अध्ययनकालागि लेखा सुपेरिवेक्षण समितिमा पुनराबलोकनकालागि पठाउने निर्णय भएको छ । त्यस्तैगरी सोही बैठकले केन्द्रमा रहेको ५८ लाखको अध्यक्ष कोष परिचालनकोलागि अक्षय कोष परिचालन नियमावली पास गरिएको महासचिव श्रेष्ठले बताउनुभयो ।
त्यस अलावा पनि महासंघले सरकारले बनाएको ज्येष्ठ नागरिक ऐन पूर्ण रुपमा लागु गर्न, विभिन्न बहानामा ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ताबाट बञ्चित नगर्न, प्रिन्टिङ मेसिन मार्फत ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न, देशैभरका सबै भौतिक संरचना ज्येष्ठ नागरिक मैत्री बनाउन र शिक्षामा नैतिक भन्दा पनि बढ्यौली मैत्री शिक्षा प्रदान गर्न सरकारलाई माग गर्ने निर्णय भएको श्रेष्ठले बताउनुभएको छ ।