गोरखा ९ मंसिर । सरकारले बहुप्रतिक्षित बूढीगण्डकी जलविद्युत् आयोजनाको लगानी मोडालिटी तयार पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङका अनुसार १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्तको लागत ४ खर्ब ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार गरिएको छ । धादिङ र गोरखामा निर्माण हुने बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड डलर करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ ।
आयोजनाको निर्माण अवधि ८ वर्ष रहेको छ । निर्माण अवधिको व्याज ३२ अर्बसहित आयोजनाको लागि ४ खर्ब ६ अर्ब रुपैयाँ रहेको छ । निर्माण अवधिको व्याजसहित कूल लागतका आधारमा कर्जा र स्वस्पुँजी ९इक्विटी० अनुपात ७० र ३० प्रतिशत रहने गरी मोडालिटी तयार गरिएको छ ।
आयोजनाको प्रवद्र्धक बूढीगण्डकी कम्पनी लिमिटेडमा नेपाल सरकारको ८० र नेपाल विद्युत प्राधिकरणको २० प्रतिशत सेयर स्वामित्व रहने छ । गोरखा र धादिङ जिल्लाको सीमा भएर बग्ने बूढीगण्डकी नदी थुन्नका लागि २६३ मिटर अग्लो कर्भेचरयुक्त आर्च बाँध बनाइने छ ।
जसबाट धादिङका साविकका १४ गाविस हाल ४ गाउँपालिका तथा १ नगरपालिका र गोरखाका १३ गाविस हाल ४ गाउँपालिका प्रभावित हुने छन् ।
बाँध बाँधेपछि धुनिएको पानीको जलाशय माथिल्लो तटीय क्षेत्रमा ६३ वर्गकिलोमिटर फैलने छ । बूढीगण्डकीमा बन्ने ६३ वर्ग किलोमिटरको कारण रोजगारी, व्यवसाय, पर्यटन हव, माछापालन, तल्लो तटीय लाभ लिन सकिने अवस्था छ । आयोजनाको अधिकतम जलशतह ५४० मि.सम्म रहने छ ।