काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरेको छ । आज सानेपामा बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भाग लिने निर्णय गरेको हो । दुवै निर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णयसमेत कांग्रेसले गरेको छ। बैठकमा महामन्त्री गगन थापाले निर्णयहरू सुनाएका थिए भने केन्द्रीय समितिले अनुमोदन गरेको हो ।
कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक भनेको छ । तर यो विषय सर्वोच्च अदालतले नै टुङ्गो लगाउने भन्दै कांग्रेस केन्द्रीय समितिले आम निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।
कांग्रेसले सरकारलाई निर्वाचनको वातावरण बनाउन समेत भनेको छ । जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारहरू फिर्ता ल्याउन र फरार भएका कैदीहरूलाई पनि पुनस् कारागार ल्याउन कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।
असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक बीचमा स्थगित गरेर सहमति खोज्ने प्रयास गरिएको थियो । निर्वाचनमा भाग लिने र अहिलेको अवस्थामा सर्वपक्षीय छलफलको आवश्यकता रहेको आजको केन्द्रीय समितिले निष्कर्ष निकाले पनि महाधिवेशनबारे भने पछि छलफल हुनेछ । केही दिन बैठक स्थगित गरेर महाधिवेशनबारे सर्वसम्मत निर्णय लिने पक्षमा कांग्रेसका नेताहरू छन् ।