दमौली तनहुँ, ६ मङ्सिर । पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय ७९ योजना सम्पन्न गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा जिल्लाका दश पालिकामा सञ्चालित एक सय ७९ योजना सम्पन्न गरेको हो ।
त्यस अवधिमा रु १० लाखसम्मका १६, रु १० लाखदेखि २० लाखसम्मका ५३, रु २० लाखदेखि रु दुई करोडसम्मका ९६, रु दुई करोडदेखि पाँच करोडसम्मका दश र रु पाँच करोडमाथिका चार योजना सम्पन्न भएको कार्यालय प्रमुख रवीन्द्र तिवारीले जानकारी दिनुभयो ।
तिवारीका अनुसार शुक्लागण्डकी नगरपालिकामा ३४, म्याग्दे गाउँपालिकामा १२, भिमाद नगरपालिकामा २६, ऋषिङ गाउँपालिकामा तीन, व्यास नगरपालिकामा ३८, बन्दीपुर गाउँपालिकामा १३, आँबुखैरेनी गाउँपालिकामा १२, भानु नगरपालिकामा ३०, देवघाट गाउँपालिकामा पाँच र घिरिङ गाउँपालिकामा छ योजना सम्पन्न भएका छन् ।
सडकपुलतर्फ भिमाद नगरपालिका–८ र शुक्लागण्डकी नगरपालिका–१० जोड्ने क्याङ्दी खोलामा रु पाँच करोड ५७ लाख ९२ हजार आठ सय ६६ को लागतमा विसं २०८२ जेठ २० गते पुल निर्माण सम्पन्न भएको छ ।
यस्तै भिमाद नगरपालिका–१ डुम्रीवेशीमा रु सात करोड ५३ लाख ६४ हजार तीन सय ८२ को लागतमा पुल निर्माण सम्पन्न भएको छ । चुँदीखोलामा रु दश करोड दश लाख ९१ हजार नौ सय ६६ को लागतमा पुल निर्माण सम्पन्न भएको तिवारीले बताउनुभयो ।