Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका अधिकारीको हत्या अभियोगमा दर्ता भएको मुद्दामा मिसिल झिकाउन आदेश


1.3K
Shares

गोरखाका अधिकारीको हत्या अभियोगमा दर्ता भएको मुद्दामा मिसिल झिकाउन आदेश

गोरखा, ४ मंसिर । सर्वोच्च अदालतले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा दर्ता भएको मुद्दामा मिसिल झिकाउन आदेश जारी गरेको छ । न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र नृपध्वज निरौलाको इजलासले उक्त मुद्दामा मिसिल झिकाउन आदेश दिएको हो ।

सर्वोच्चमा कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दा तीन वर्षदेखि विचाराधीन छ । यो मुद्दामा २०८१ वैशाख १२ मा सरकारसहित सबै प्रतिवादीहलाई पेसीको सूचना दिने आदेश गरेको थियो । न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठले यस्तो आदेश गरेको थियो । त्यसपछि यो मुद्दामा सुनुवाइ हुन सकेको छैन ।

गोरखाका कृष्णप्रसादको हत्या २०६१ सालमा चितवनमा भएको थियो । तत्कालीन समयमा द्वन्द्वरत पक्ष नेकपा माओवादीका कार्यकर्ताले अपहरणपछि उनको हत्या गरेको आरोपमा एकपछि अर्को अदालतमा मुद्दा चलिरहेको छ । अधिकारीका बुबा नन्दप्रसाद अधिकारीले केही व्यक्तिविरुद्ध किटानी जाहेरी दिएसँगै जिल्ला अदालतमा कर्तव्य ज्यानको मुद्दा सुरु भएको थियो ।

आफ्ना छोरा कृष्णप्रसादको हत्यामा गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेलसहित १२ जना संलग्न रहेको भन्दै नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीले जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले लगाएको मुद्दामा चितवन जिल्ला अदालतले २०७५ सालमा सबै प्रतिवादीलाई सफाइ दिएको थियो । उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले चितवन जिल्ला अदालतकै फैसला सदर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology